जेन-जी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने तथा हतियार लुटपाट गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले दोलखाको शैलुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं-१२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, गत भदाैं १४ गते काठमाडौंमा भएको जेन-जी प्रदर्शनका क्रममा घिसिङ विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न थिए।
सोही क्रममा उनले बानेश्वर क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्ने, प्रहरीमाथि आक्रमण गर्ने, कर्तव्यमा खटिएका प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, र कर्तव्यमा खटिएका एक प्रहरीको हतियार लुटेको आरोप छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले घिसिङलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्ने कसुरमा जिल्ला अदालत, काठमाडौंबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।
साथै, पक्राउ परेका घिसिङ यसअघि २०७९ सालमा प्रहरी वृत्त गौशालामा दर्ता भएको बैंकिङ कसुरका फरार अपराधी रहेको प्रहरीले जनाएको छ ।
घिसिङमाथि अनुसन्धान गरिरहेको प्रहरीले अदालतबाट आठ दिन म्यान थप गरेको छ ।

प्रकाशित: २ कार्तिक २०८२ १८:४६ आइतबार





