लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको सन्धिखर्कबाट तीन जनालाई पक्राउ गरेको छ।
जेन-जी आन्दोलनको क्रममा भएको उक्त घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भूमिकास्थान नगरपालिका-१ घर भई हाल सन्धिखर्क-२ बस्ने गुरुदेव खनाल, सोही वडाका पुष्कर पौडेल र चूरामणि ढुंगाना रहेका छन्।
अर्घाखाँची जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार उनीहरूविरुद्ध ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सन्धिखर्कस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो।
घटनापछि मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्यले खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीमा पक्राउ परेका तीनै जनालाई मुख्य योजनाकारको रूपमा उल्लेख गरिएको छ।
जाहेरीमा उल्लेख गरिएका अन्य आठ जनाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
फरार रहेका व्यक्तिहरूमा माधव भण्डारी, मदन परियार, विनोद मगर, कमल घिमिरे, कुशल चुँदाली, अर्जुन चुँदाली, सुन्दर भारती र विशाल कँडेल रहेका छन्।
आचार्यले दिएको जाहेरीमा आगजनी र तोडफोडबाट घरभित्रको सामान जल्दा ३५ लाख ५३ हजार र भौतिक संरचनामा ६० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ।
भदौ २४ को प्रदर्शनका क्रममा मुख्यमन्त्रीको घरका साथै अर्घाखाँचीमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो।
प्रहरीले जेन-जी आन्दोलनको नाममा भिडलाई दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गर्ने कसैलाई पनि कानुनी छुट नभएको बताएको छ।
प्रकाशित: १९ कार्तिक २०८२ २१:२२ बुधबार





