सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरी दुःख हैरानी दिएको अभियोगमा प्रहरीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले रूपन्देही गैडहवा गाउँपालिका-८ घर भई हाल बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसादलाई टोखाबाट पक्राउ गरेको हो।
ब्यूरोका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियो तथा तस्बिरहरू दुरुपयोग गरी ब्ल्याकमेल गर्ने र अनुचित लाभ लिन दबाब दिने गरेका थिए।
उनले ती भिडियो र तस्बिरहरू सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मार्फत पीडितका परिवारलाई समेत पठाएर दुःख हैरानी दिएको प्रहरीले जनाएको छ।
पीडितको उजुरीका आधारमा ब्यूरोबाट खटिएको टोलीले निसादलाई टोखा नगरपालिका–७ बाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर निसादमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ असार २०८३ १९:०७ बिहीबार





