स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित काठमाडौंको कुलेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-४ घर भई हाल काठमाडौंको कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह रहेका छन्। प्रहरीले बुधबार दिउँसो करिब १ः३० बजे काठमाडौं महानगरपालिका-१४, कुलेश्वरस्थित अञ्चल फ्रुट सेन्टर पसलमा स्रोत नखुलेको रकमको हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो।
छापा मार्ने क्रममा साहको साथबाट ७६ लाख २७ हजार ३ सय नेपाली रुपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद रकमसहित साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २८ श्रावण २०८३ ०७:२५ बिहीबार





