२ भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

विमानस्थलबाट ३९ किलो उच्च स्तरको ‘थाई गाँजा’ सहित ८ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ३९ किलो २८८ ग्राम उच्च स्तरको ‘थाई गाँजा’ सहित आठ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

थाइल्यान्डको बैंकक र फुकेटबाट हवाई मार्ग हुँदै नेपालमा लागूऔषध भित्र्याउन लागेको गोप्य सूचनाका आधारमा ब्यूरोको टोलीले गत साउन ३१ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्यूरोका अनुसार बैंककबाट आएको थाइ एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत आएका म्यानमारका पाँच नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्यानमारका २३ वर्षीय जार नि लिन, २६ वर्षीया एइ एइ थ्वे, ३९ वर्षीय आउङ ब्वार, ३२ वर्षीया छु म्याथवाल सेन र ३२ वर्षीय जिन म्यो आउङ रहेका छन्।

यस्तै, थाइल्यान्डको फुकेटबाट बाटिक एयरवेजको उडान नम्बर ओडी ५४१ द्वारा काठमाडौं आएका भारत पञ्जाबका तीन नागरिक पक्राउ परेका छन्। जसमा २३ वर्षीय खुशदीप, ३२ वर्षीय गुरदीप सिंह र २६ वर्षीया कामिनी रहेका छन्।

शंका लागि चेकजाँच गर्दा उनीहरूले बोकेको लगेजबाट ३९.२८८ किलोग्राम थाई गाँजा बरामद भएको ब्यूरोका सह-प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जिवन निरौलाले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ८ थान राहदानी र ८ थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८३ २१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App