नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा ४९ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको बताएकाे छ।
प्रहरीको वार्षिक तथ्यांकअनुसार एक वर्षमा ४९ हजार ११ किलो गाँजा बरामद भएको हाे। लागुऔषध नियन्त्रणतर्फ प्रहरीले एक वर्षमा ५ हजार ७९१ मुद्दा दर्ता गरेको छ। ती मुद्दामा ९ हजार २९२ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी ५ हजार ६१ मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ५ हजार ७९१ पुगेको छ।
पक्राउ पर्ने व्यक्तिको संख्या पनि ७ हजार ८९० बाट बढेर ९ हजार २९२ पुगेको छ। बरामद लागुऔषधमध्ये गाँजाको मात्रा सबैभन्दा धेरै छ। अघिल्लो आर्थिक वर्षमा ५१ हजार ७८३ किलो गाँजा बरामद भएकोमा गत आर्थिक वर्षमा ४९ हजार ११ किलो बरामद भएको छ।
त्यस्तै चरेस ४८८ किलो, अफिम १५० किलो, हेरोइन ४७ किलो, कोकिन १० किलो र पोलेन ३७ किलो बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। प्रदेशगत रूपमा कोशीमा १ हजार ३१४, काठमाडौं उपत्यकामा १ हजार ८१, लुम्बिनीमा ८५२, सुदूरपश्चिममा ६९७, बागमतीमा ६७५, मधेशमा ६३०, गण्डकीमा ३२८ र कर्णालीमा २१४ लागुऔषध मुद्दा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकले लागुऔषध अपराध नियन्त्रण अझै ठूलो चुनौतीका रूपमा रहेको देखाएको छ।
प्रकाशित: २३ श्रावण २०८३ ०९:२२ शनिबार





