काठमाडौं, झापा र बाँकेका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
आइतबार विभिन्न समयमा गरिएको कारबाहीमा उनीहरूको साथबाट कुल २ लाख ९२ हजार २० रूपैयाँ नगद र २४ बुक तास बरामद भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ गैरीगाउँ सुनखरी टोलबाट जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले आइतबार साँझ दोलखा जिरी नगरपालिका-३ घर भई बौद्ध नयाँबस्ती बस्ने ४८ वर्षीय ङिम लाक्पा शेर्पासहित ९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद ९१ हजार ५ सय रूपैयाँ र ८ बुक तास बरामद गरिएको हो।
यसैगरी, झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले सोही ठाउँका ३७ वर्षीय किरण लम्सालसहित ७ जनालाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट १ लाख ८ हजार ५ सय २० रूपैयाँ नगद र ८ बुक तास बरामद गरेको छ।
उता बाँकेको नेपालगंज उपमहानगरपालिका-५ रामनगरस्थित एक क्याफेबाट पनि ४ जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले स्थानीय ३५ वर्षीय सन्तोष गुप्तासहित ४ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ९२ हजार रूपैयाँ र ८ बुक तास बरामद भएको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८३ १५:२६ सोमबार





