मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइनेहरूमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय प्रदिप भट्टराई, वडा नं. २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अबिरल मास्के रहेका छन्।
प्रहरीका अनुसार सुन्दरहरैंचा-१० खोसनेस्थित सुकुना माध्यमिक विद्यालयका शिक्षकहरूले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले शिक्षकहरू विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए।
सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूमाथि पनि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
प्रकाशित: ४ श्रावण २०८३ १७:५८ सोमबार





