३ असार २०८३ बुधबार
image/svg+xml
अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।

कैलाली, कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, कैलाली, लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, कनकाई नगरपालिका-५ र ६ को सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ घैलाडुब्बा बस्ने २६ वर्षीय पवन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ७ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीया सोनी खाती र झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बस्ने ६० वर्षीया सिता राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय अविनय खतिवडालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कलमडाँडाबाट लामसुरेतर्फ जाँदै गरेको ना.२ ह ३५७० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अविनयलाई पक्राउ गरेको हो।

ललितपुर, गोदावरी नगरपालिका-११ शेराफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ ढोललाहिटी बस्ने ओखलढुंगा घर भएका ३२ वर्षीय मिलन सापकोटा र बागलुङ घर भएका २८ वर्षीय मनिष पुन रहेका छन्। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०१२ प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी, सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार चौधरी, धरान उपमहानगरपालिका-५ डेरा गरी बस्ने मोरङ लेटाङ नगरपालिका-३ घर भएका २८ वर्षीय अभिशेक विक र २८ वर्षीय संजिप विक, मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राई, १९ वर्षीय निसान सरदार, मोरङ कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय निरज राम र सुनसरी बर्जु गाउँपालिका-५ बस्ने ३३ वर्षीय जितेन यादव रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले राजेश र बिरेन्द्रलाई ३ ग्राम ३ सय ६० मिलिग्राम, अभिशेक र संजिपलाई ९ ग्राम ८ सय २० मिलिग्राम, बिकाश र निसानलाई ५ सय ७० मिलिग्राम, निरजलाई १ ग्राम ७० मिलिग्राम र जितेनलाई ६ सय ८० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो १ सय ८५ ग्राम सहित सोही महानगरपालिका-६ जरेबर बस्ने तनहुँ घर भएका २१ वर्षीय संगम गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको ग.८ प ४८४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ कैलाश टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ४३ एम्पुल, फेनारगन २ सय ३८ एम्पुल र बुप्रेनोर्फिन २ सय ३४ एम्पुल सहित सोही ठाउँ बस्ने ७३ वर्षीय अमर हमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

प्रकाशित: ३ असार २०८३ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App