देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँके, मकवानपुर, झापा, सिराहा, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानबाट आइतबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
भारतको रूपैडिहाबाट पैदल आउँदै गरेका कोहलपुर–१० का २४ वर्षीय सुदिप रैदास ११ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
यस्तै, डुडुवा–५ का ३२ वर्षीय हिरा लाल सुनार २ ग्राम ७ सय ९० मिलिग्राम खैरो हेरोइन र रोल्पा थबाङ–९ का २७ वर्षीय किरण बुढा नियन्त्रित लागूऔषध ‘नाईट्राजेपाम’ १ सय ट्याब्लेटसहित पक्राउ परेका छन्।
सिराहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइल चोकबाट करिब १९ किलो १ सय १० ग्राम गाँजासहित राजेश दास पक्राउ परेका छन्।
अटोमा बोराभित्र लुकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। यस्तै, मकवानपुरको सोल्टीमोडबाट २ किलो ५ सय ग्राम गाँजासहित हेटौँडा–१ का ३० वर्षीय सुजन लामासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको गौरीगन्जस्थित चौतारी होटलबाट ४ सय ७० मिलिग्राम ब्राउनसुगर र ६ ग्राम ७ सय ८० मिलिग्राम गाँजासहित रमेश डोम र पुजन चौधरी पक्राउ परेका छन्।
यस्तै, गौरादह–१ चैतु चोकबाट ३ सय ४० मिलिग्राम खैरो हेरोइनसहित सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्।
कञ्चनपुरको बेदकोट–७ भाँसीबाट २४ वर्षीय कैलाश कुमार जोसीसहित दुई जना र भीमदत्त–३ तिलकपुरबाट ४४ वर्षीय रमेश दमाई खैरो हेरोइनसहित पक्राउ परेका छन्।
यता, दाङको घोराही–१२ मा निर्झर केसीको घर नजिकैको झाडीबाट २ ग्राम ९ सय ३० मिलिग्राम ब्राउनसुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको छ।
सुनसरीको इनरुवा–४ बाट मे.२ प ९८७९ नम्बरको मोटरसाइकल चालक ३२ वर्षीय खगेन्द्र मगर ६ ग्राम ६५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएका छन्।
प्रकाशित: ३० चैत्र २०८२ १२:४५ सोमबार





