११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
अपराध

लागूऔषधसहित ९ जिल्लाबाट १६ समातिए

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका ९ जिल्लाबाट अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

बिहीबार विभिन्न स्थानमा गरिएको जाँच तथा तलासीका क्रममा गाँजा, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन एरियाबाट अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ३ किलो ५ सय ग्रामसहित भारत घर भएका ३२ वर्षीय शिव कुमार चौहानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमान एयरलाइन्सको उडानद्वारा ढाकाबाट काठमाडौं आएका उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

चितवनको राप्ती नगरपालिका-२ गड्यौलीमा डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-८ घर भएका २२ वर्षीय विशाल घिसिङसमेत २ जनालाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

यसैगरी चितवनकै खैरहनी नगरपालिका-१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया अन्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारीलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले पक्राउ गरेको छ।

बाराको बिश्रामपुर गाउँपालिका-४ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-८ गहवा टोल बस्ने ३१ वर्षीय बिनय महतो र सोही महानगरपालिका-७ रामटोल बस्ने ३० वर्षीय सहजाद शेख छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जसमेतबाट खटिएको प्रहरीले ना.२७ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

झापाको भद्रपुर नगरपालिका-३ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय रितेश राई र २७ वर्षीय अनिल राई बिहीबार दिउँसो पक्राउ परेका छन्।

प्रहरी चौकी मेचीपारीसमेतबाट खटिएको प्रहरीले मे.४ प ९३७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-७ बस्ने २७ वर्षीय अजय चौधरी बिहीबार साँझ पक्राउ परेका छन्। उनलाई प्रहरी चौकी कालाकुण्डासमेतबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० एयरपोर्ट चोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-९ बस्ने सप्तरी घर भएका ३२ वर्षीय दिपक झालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित समातेको हो।

बर्दियाको मधुवन नगरपालिका-५ गोपालबस्ती बस्ने ३२ वर्षीय रमेश चौधरीसमेत २ जनालाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सानोश्रीसमेतबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने २४ वर्षीय धन बहादुर खत्रीसमेत २ जनालाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र नगद ४२ हजार ९ सय ४० रुपैयाँसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले धन बहादुरको घर तलासी गर्दा उक्त पदार्थ र नगद बरामद गरेको हो।

गुल्मीको रेसुङ्गा नगरपालिका-९ चारिखोला बस्ने सुन्तला सर्किनीलाई गाँजाजस्तो देखिने पदार्थ १ सय ४० ग्रामसहित बिहीबार बेलुकी उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ११ मंसिर २०८३ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App