उदयपुर जिल्ला प्रहरी मातहत विभिन्न युनिटबाट माघ २४ र २५ गते २ दिनमा १६ जना फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहत युनिटसमेतबाट खटेको टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा १ अभियुक्त छन् भने लागू औषध मुद्दामा ३ जना, शरीर अङ्गभङ्ग मुद्दामा फरार २ जना, दोहोरो नागरिक्ता लिएको कसूर मुद्दाक १ जना रहेका छन्। त्यस्तै चेक अनादर मुद्दामा २ जना, कुटपिट मुद्दाका ४, नकवजनी मुद्दामा १, वन मुद्दाका १ र वैदेशिक रोजगार ठगी मुद्दाका १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसला अनुसार उनीहरू दोषी करार भए पनि फरार रहेकाले खोजी गर्ने क्रममा पक्राउ परेका हुन्। पक्राउ १६ जनाबाट १,५० हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ।
पक्राउ परेका सबैलाई सदरमुकाम गाईघाटस्थित जिल्ला प्रहरी कार्यालय ल्याएर फैसला कार्यान्वयनका लागि आइतबार उदयपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ माघ २०८२ १८:२५ आइतबार



-600x400.jpg)

