सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको छ। गोलवजार नगरपालिका ८ स्थित जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठमाथि आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।
नमुना विद्यालयमा अध्यनरत चार जना छात्रामाथि शिक्षक श्रेष्ठले कक्षामा पढाउनेक्रममा संवेदनशिल अंगहरु छोइदिने, शरीरमा गलत नियतले छुने, अंगालो हाल्ने, गाला सुम्सुम्याउनेजस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरुले बताए ।
पीडित बालिकाहरु शिक्षक श्रेष्ठको दुर्व्यवहारबाट आजित भएर अभिभावकहरुलाई घटना सुनाएका थिए। एकजना पीडित बालिकाले केहीदिन अगाडी नै विद्यालयका शिक्षिका रञ्जु सिंहलाई सुनाएकी थिइन् । शिक्षिका सिंहले भनेपछि प्रधानाध्यापक ब्रह्मदेव सिंहले शिक्षक श्रेष्ठसँग उक्त सम्बन्धमा सोधपुछ गरेपछि घटना बाहिरिएको थियो ।
घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफूले बदनियतपूर्वक केही नगरेको बताउँदै उक्त विषयलाई धेरै अगाडी नवढाउन आग्रह गरेका थिए ।
यता, बालिकाका अभिभावकले आफ्नी छोरीहरुमाथी यौन दुर्व्यवहार गर्ने शिक्षक श्रेष्ठलाई कारबाही गर्न विद्यालयसँग माग गरेका छन्।
प्रधानाध्यपक लगायत शिक्षक र केही व्यक्तिहरुले घटना सामसुम पार्ने प्रयास गरिरेहको जानकारी पाएपछि आक्रोसित स्थानीयले विद्यालयको प्रशासनिक भवनमा तोडफोड गरेका छन् ।
यस विषयमा प्रधानाध्यापक ब्रहमदेव सिंहलाई प्रतिक्रिया लिन खोज्दा उनले भने, ‘म एउटा मिटिङमा छु। भेटेरै कुरा गरौंला। ममाथि लगाईएको आरोपहरु सबै झुठो हो।’
मुक्ति नेपालका अध्यक्ष देवकुमारी रामले बालिकाहरुको कुरा सुन्दा उनीहरु पीडित रहेको प्रष्ट भएको बताइन्। उनले भनिन्, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैन। उनीहरु प्रहरीमै आएर नबताए पनि बालिकाहरु पीडित रहेको भन्न गाह्रो छैन।’
इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पस्ट हुन एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिरहा पठाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई मदनाम गर्न केही शिक्षक र व्यक्तिहरु सक्रिय रहेको भन्दै उनिहरुले नै नियोजित रुपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्र्यान डिजाईनमा नियोजित घटना बनाएको हो।’
घटना सर्वाजिनक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
प्रकाशित: २३ असार २०८२ १९:३१ सोमबार

