भारतबाट अवैध रूपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन्।
पोखरामा बिक्री गर्ने उद्देश्यले भारतबाट अवैध रूपमा ठूलो मात्रामा सुन ल्याएको आरोपमा कास्की प्रहरीले एक किलो सुनसहित कुलदीप सिंह र रामबहादुर विकलाई पक्राउ गरेको हो। पक्राउ परेका ४९ वर्षीय सिंह भारतको अमृतसर निवासी हुन् भने उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ। विक भने उनका सहयोगी मात्र रहेको कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। विक रुपन्देहीका हुन्।
उनीहरूको साथबाट एक किलो सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले सुनको ढिक्का, हिरा जडित औंठी, मंगलसुत्र, सिक्रीलगायतका गरेर ८२ तोला १६ लाल सुन बरामद गरिएको जानकारी दिए। सो सुन एक करोड ३० लाख ४१ हजार बराबरको रहेको उनले बताए।
भारतीय नागरिक सिंहले फेसबुकमार्फत विकसँग सम्बन्ध बढाएको र उनको सहयोगमा सुन र हिराका गरगहना बेच्न उनी पोखरा आएको बयानमा खुलेको एसपी ओलियाले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा विकले आफूले केही रकम पाउने आशाले सहयोग गरेको स्वीकार गरिसकेको प्रहरी श्रोतको दाबी छ।
अवैध रूपमा भारतबाट ल्याइएका सुनको बिल नभएका कारण सुनचाँदी व्यवसायीले खरिद गर्न नमानेपछि प्रहरीमा सूचना पुगेको श्रोतले बताएको छ। त्यसपछि प्रहरीले निगरानी बढाउन थालेको थियो। पोखरामा गरगहना बिक्री गर्न नसकेपछि सिंह सिद्धार्थ राजमार्ग हुँदै बुटवलतर्फ जाँदै गर्दा पोखरा–२२ पुम्दीभुम्दीमा गाडी खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानार्थ गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, काठमाडौं पठाइने ओलियाले बताए।
प्रकाशित: ७ असार २०८२ १८:२२ शनिबार





