१४ पुस २०८२ सोमबार
image/svg+xml
अपराध

हिल्टन-जयवीर प्रकरण : पत्रकार पाठकविरुद्ध पक्राउ पूर्जी जारी

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध समाचार प्रसारण गरेको आधारमा पक्राउ पूर्जी जारी भएको छ। 

शंकर ग्रुपको स्वामित्वमा रहेको नक्सालको हिल्टन होटल खरिदमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा जोडिएको भन्ने समाचारका कारण उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो। ‘नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेका कारण पाठकविरुद्ध पक्राउ पूर्जी जारी भएको हो,’ स्रोतले बतायो। स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतले यो पूर्जी जारी गरेको हो।

पाठकले आफ्नो युट्युब च्यानलको ‘टफ टक’ कार्यक्रममा ‘टफ एक्स्प्लेनर’ सामग्रीमार्फत जयवीरले होटल हिल्टन खरिद गरेको आसयको समाचार प्रस्तुत गरेका थिए। यस समाचारलाई लिएर उनकोविरुद्ध साइबर अपराधको उजुरी परेको छ। 

पाठकले समाचारमा जयवीरले होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर होटल खरिद गरेको आरोप लगाएका थिए। साथै, जयवीरले आफ्ना बुवा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयातमा कर छुट हुनेगरी करको दर परिवर्तन गरेको पनि पाठकले उल्लेख गरेका छन्। १७ तले उक्त होटलको नक्सापास विवादमा देउवा परिवार जोडिएको समाचारमा दाबी गरिएको छ। शंकर ग्रुपको यो होटल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

पाठकले जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियल स्टेट व्यवसाय फैलाएको र नक्सालको पाँचतारे होटल हिल्टनमा पनि संलग्न रहेको दाबी गरेका थिए। उनले जयवीरको सम्पत्तिमाथि पनि प्रश्न उठाएका छन्। यस विषयमा शंकर ग्रुपले गत वैशाख २१ मा विज्ञप्ति जारी गरी खण्डन गरेको थियो र कानुनी प्रक्रिया अपनाउने बताएको थियो।

‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर गलत समाचार बनाई सार्वजनिक गर्दा व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको जीवनमा नकारात्मक असर पर्ने काम भएको छ। यसप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको कानुनअनुसार आवश्यक प्रक्रिया अपनाइने जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ जेष्ठ २०८२ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App