काठमाडौंको सामाखुसीमा सञ्चालित एक रेस्टुरेन्टमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६२ हजारभन्दा बढी नगद र तास बरामद भएको छ।
काठमाडौं महानगरपालिका-३, सामाखुसी रानीबारीस्थित ‘खुसी किचेन रेस्टुरेन्ट’ मा जुवा चलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले शनिबार साँझ छापा मारेको हो।
प्रहरीले रेस्टुरेन्टका सञ्चालक ५८ वर्षीय डम्बर लामासहित ९ जनालाई जुवाको खालबाटै नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद ६२ हजार ८ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ।
प्रकाशित: २५ जेष्ठ २०८२ १४:३१ आइतबार





