पोखरामा श्रृंखलाबद्ध चोरी र डकैती गर्ने कटप्पा समूहका ५ जना पक्राउ परेका छन्। कास्की प्रहरीले उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा तनहुँ, शुक्लागण्डकी–१० का २६ वर्षीय सुवास विक (उपनाम कटप्पा), ठेक्का-पट्टाको काम गर्ने, सोही ठाउँका २३ वर्षीय बिमल विक, सवारी चालक, शुक्लागण्डकी–११ का २२ वर्षीय गणेश सुनार, कालिगड, स्याङ्जा, पुतलीबजार–९ घर भई पोखरा–२ बस्ने २३ वर्षीय सुरेश विक, कालिगड, र सोही ठाउँ घर भई पोखरा–१० रामबजारमा सुनचाँदी पसल चलाउने ५३ वर्षीय दुर्गाबहादुर थापा छन्।
श्रृंखलाबद्ध सुनचाँदी चोरीको उजुरीपछि अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। मुख्य नाइके कटप्पालाई बैशाख २९ गते पोखरा–२६ बुढिबजारबाट, बिमललाई बैशाख २६ गते पोखरा–३२ मझुवाबाट, गणेशलाई बैशाख ३१ गते पोखरा–१० गौरीमार्गबाट, सुरेश र दुर्गालाई बैशाख ३१ गते सोही ठाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले बताए। यो समूहका केही व्यक्ति यसअघि पक्राउ परेर कारागारमा छन्।
कटप्पा समूहले ७ ठाउँबाट ६९ लाखभन्दा बढीको नगद र सामान चोरी तथा डकैती गरेको प्रहरीले जनाएको छ। पोखराका ९ र तनहुँका ३ ठाउँमा उनीहरूले चोरी र डकैती गरेको पाइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। पक्राउ परेकाहरूबाट १२ तोला ८ लाल सुनका गहना, २४ तोला चाँदीका गहना, सुन गाल्ने निम्पल, चिम्नी र गाँजा धुलो बनाउने बट्टा बरामद भएको उनले जानकारी दिए। बरामद गहनाको बजार मूल्य २२ लाख ६३ हजार ८०० रुपैयाँ छ।
प्रहरीले छड्के तिलहरी १ थान, ३ थान बन्दै गरेको छड्के तिलहरी, माइली तिलहरी ३ थान, सानो तिलहरी १ थान, चन्द्र पोते ५ थान, मोती माला ५ थान, चन्द्रमा ५ थान, गेडी पोते ३ थान, मंगलसुत्र ४ थान, नौ गेडी १ थान, एक गेडी २ थान, पेन्डम माला ७ थान, रातो स्टार पोते ६ थान, सिक्री १ थान, औँठी ७ थान, चिम्टी काँटा ४ थान, पञ्चरत्न बाला १ थान, टप ४ जोर, फूली ६ थान, कानको ढुंग्री १ जोर र सुनका टुक्रा ५ थान बरामद गरेको छ। चाँदीका गहनामा ३ थान औँठी, १ थान पत्थरसहितको सिक्री, ३ जोर सानो बाला, १ जोर ठूलो बाला, ३ जोर पाउजु, १ थान सिक्री, १ जोर पञ्चरत्न बाला, १ थान चुरी र ४ थान चाँदीका टुक्रा छन्।
समूहले पोखराको सिसुवाबाट ४ लाख ४९ हजार, तामुहनो दुर्गा मन्दिर टोलबाट १८ लाख ४ हजार ७५०, शान्तिपथ ठूलढुंगाबाट ८ लाख ८० हजार, बिजयपुरबाट ३ लाख ४३ हजार, बिजयपुर सोताटोलबाट १४ लाख ४८ हजार २००, सोही ठाउँबाट १५ लाख ९१ हजार ५६० र सक्कनेरी नहरकुलोबाट ३ लाख ८६ हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी गरेको उजुरी परेको छ। अन्य उजुरी पनि आउने क्रममा छन्।
प्रहरी उपरीक्षक ओलीयाले कटप्पाले नातेदारको समूह बनाएर चोरी र डकैती गरेको अनुसन्धानमा खुलेको बताए। ‘चोरी, डकैतीमा पक्राउ परेकाहरू कटप्पाका आफन्त र नातेदार हुन्,’ उनले भने। सुरेश र सुवास कटप्पाका फुपुका छोराहरू, बिमल ठूलो बुबाको छोरा र दुर्गा मामा हुन्।
कटप्पाको चोरी र डकैती पुरानो धन्दा भएको ओलीयाले बताए। २०७४ जेठ ११ गते २० लाख बराबरको सुनचाँदी चोरीको आरोपमा पक्राउ परेका कटप्पाले ५ वर्ष कैद भोगेर २०७९ जेठ १० गते कारागारबाट निस्केका थिए। तर, उनले चोरी र डकैती नछोडेको पाइएको छ। कारागारबाट निस्केपछि कतार गएर ३ महिनामा फर्केपछि पुनः चोरी र डकैतीमा संलग्न भएको उनले बताए।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको ओलीयाले जानकारी दिए।
प्रकाशित: २ जेष्ठ २०८२ १६:०३ शुक्रबार