२ असार २०८२ सोमबार
image/svg+xml
अपराध

खोटाङमा विद्यालय तोडफोड गरि ३ लाख बढीको चोरी

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित याङसोला माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ। शनिबार राति विद्यालयको कार्यालयको ताला फोडेर तोडफोड गर्नुका साथै ल्यापटप चोरी गरिएको हो।

आइतबार बिहान शिक्षकहरू विद्यालय पुगेपछि चारवटा कोठाको ताला फुटाइएको, कार्यालयमा तोडफोड गरिएको र ल्यापटप चोरी भएको थाहा भएको हो। स्थानीय प्रहरीका अनुसार अज्ञात समूहले विद्यालयको दुईवटा ल्यापटप फुटाएको छ भने एउटा नयाँ ल्यापटप चोरी गरि लगेको छ।

विद्यालयका प्रधानाध्यापक सहरमान राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार चोरी भएको ल्यापटपको मूल्य लगभग एक लाख रुपैयाँ बराबरको रहेको छ। चोरी हुँदा विद्यालयलाई करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ।

चारवटा ल्यापटप रहेको कार्यालयमा एउटा ल्यापटप पूर्ण रूपमा र अर्को आधा फुटेको अवस्थामा भेटिएको थियो। एउटा पुरानो ल्यापटप भने सामान्य अवस्थामा भेटिएको छ। अज्ञात समूहले कार्यालयका दराज र टेबलहरू पनि तोडफोड गरेका छन्।

घटनापछि दिप्रुङ चुइचुम्मा प्रहरी चौकी र गाउँपालिकाको शिक्षा शाखाबाट खटिएको टोलीले आइतबार घटनास्थलको निरीक्षण गरी प्रारम्भिक विवरण संकलन गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

नवनिर्मित चार कोठे भवनमा केही दिनअघि मात्र विद्यालय कार्यालय सरेको थियो। ती सबै कोठाको ताला फोडिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २९ वैशाख २०८२ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App