तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग खण्डबाट प्रहरीले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले नियमित सवारी तथा पैदल यात्रु चेकजाँचका क्रममा लागु औषध लुकाइछिपाई बोकेर यात्रा गरिरहेका उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–३१ का ३० वर्षीय आसिक जलारी र तनहुँ शुक्लागण्डकी नगरपालिका–३ का २२ वर्षीय प्रदीप विक रहेका छन्।
उनीहरूको साथबाट डाइजेपाम ६२ एम्पुल, फेनारगन ६२ एम्पुल र नुर्फिन ६२ एम्पुल गरी कुल १८६ एम्पुल नियन्त्रित लागु औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूमाथि लागु औषध ओसारपसारमा संलग्न रहेको आशङ्कामा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
प्रकाशित: २८ वैशाख २०८२ १६:५४ आइतबार