नेपाल प्रहरीले ठगीमा संलग्न पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
काठमाडौं महानगरपालिका–९ कालिमाटी बस्ने बंगलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी, चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ, काठमाडौं–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका ४७ वर्षीय मिल्टन भन्ने काजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए।
उनले भने, ‘बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा निजहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।’
उनीहरूले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायत देशमा पठाउन सहज हुने भन्दै एजेन्टमार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकी डलर लिई १३ जनाबाट ४५ हजार ५०० अमेरिकी डलर ठगी गरी सम्पर्कविहीन भएका थिए। उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूसँगबाट १९ थान राहदानी, चार थान मोबाइल, ९ हजार ८५० अमेरिकी डलर, ३९ हजार ९०५ बंगलादेशी टाका र २५ हजार नेपाली रुपैयाँ बरामद भएको छ। उनीहरूलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शिवसताक्षी गेस्ट हाउसबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता आचार्यले बताए। रासस
प्रकाशित: १२ वैशाख २०८२ १९:२८ शुक्रबार


-600x400.jpg)


