६ माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

हिंस्रक बालप्रेम: यौन प्रस्ताव नमान्दा फुपू मारिइन्, घटना लुकाउन नमान्दा भदै

यही माघ १२ गते अछामको ढकारी गाउँपालिकामा मृत भेटिएकी दुई किशोरीको हत्या भएको पुष्टि भएको छ।  जिल्ला प्रहरी कार्यालय अछामले शनिवार पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो। घटनामा संलग्न भएका अभियोगमा दुई जना किशोर प्रहरीले पक्राउ गरेर राखेको छ। 

ढकारी गाउँपालिका–८ पाल्साताकी १४ वर्षीया इशरा खड्का(भदैनी) र १५ वर्षीया सरस्वती खड्का(फुपू) माघ ११ गते बाख्रा चराउन जङ्गल गएकी थिइन। तर, साँझ फर्केर आइनन्। चराउन लगेका बाख्रा भने फर्केर अर्कैको बारीमा पसेका थिए। जहाँबाट गाउँलेले घरसम्म पुर्‍याइदिए। 

दोस्रो दिन(माघ १२ गते) ढकारी गाउँपालिका–१ स्थित षोडशा सामुदायिक वनको छिन्ने ओडार नजिक दुवै जनाको मृत शरीर बीभत्स अवस्थामा फेला परेका थिए। शवको अवस्था हेर्दा सुरुमै उनीहरूको हत्या भएको लख काटिएको थियो। 

तर, जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको सत्य तथ्य तत्कालै पत्ता लगाउन भने सकेन्। त्यसपछि  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी),  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली पनि अछाम पुगेको थियो। 

यसरी घटनामा संयुक्त अनुसन्धान टोली हत्यारासम्म पुगेको दाबी प्रहरीले गरेको हो। अभियुक्त भनिएका किशोर ढकारी गाउँपालिका–३ तालीका रहेको प्रहरीले जनाएको छ। यद्यपि नाबालक रहेकाले दुवैको परिचय लुकाएको छ। उनीहरूलाई परिवर्तित नाम ६९ मङ्गलसेन ७३ र ६९ मङ्गलसेन ७६ दिइएको छ। 

टेलिफोन प्रेम, भेट, यौन प्रस्ताव र हत्या 

प्रहरीका अनुसार अभियुक्त ६९ मङ्गलसेन ७३ र मृतक इशरा(भदैनी) लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो। त्यही कुराकानीका क्रममा दुवै बिच बाल प्रेम बस्यो।  अभियुक्त ६९ मङ्गलसेन ७३ले इशरालाई भेट्न चाहेका थिए। तर, मौका जुरेको थिएन। ताली र पल्साताबीचको दुरी निकै टाढा भएकाले उनी भेट्नकै लागि भनेर इशराकहाँ जान सकेका थिएनन्।  

माघको महिना सुदूर पश्चिमेली क्षेत्रमा छोरी चेलीलाई ‘माघेत्यार’(कोसेली) दिने प्रचलन छ। इशराको गाउँ पल्सातामा ६९ मङ्गलसेन ७३ फुपूको बिहे भएको थियो। फुपूलाई माघेत्यार दिन जाने र यही मौकामा इशरासँग भेट गर्ने अवसरका रूपमा उनले लिए। माघ १० गते तालीबाट उनी ६९ मङ्गलसेन ७६ सँगै माघेत्यार लिएर पल्साता हिँडे।

१० गते नै ६९ मङ्गलसेन ७३ले इशरासँग भेट्न पटक–पटक फोन गरेका थिए। तर, सम्भव भएन। त्यसपछि ११ गते उनी आफ्नी फुपूको १० वर्षीय छोरालाई समेत लगेर ६९ मङ्गलसेन ७६ सहित बिहान १० बजेदेखि नै इशराको बाटो कुरेर बसे। त्यो दिन इशरा बाख्रा चराउन जाने कुरा उनले फोनबाटै थाहा पाएका थिए। 

दिउँसो १२ बजे रिमरौवा खोलामा रहेको खोरबाट इशरा र उनी फुपू सरस्वती बाख्रा लिएर जङ्गल निस्किइन्। त्यही बाटोमा उनीहरूबिच पहिलो पटक भेट भयो। 

त्यसपछि उनीहरू बिच कुराकानी सुरु भएको थियो। यस क्रममा सरस्वतीको मोबाइलबाट ६९ मङ्गलसेन ७३ले सेयर इटबाट आफ्नो मोबाइलमा गीत सारेकोसम्म बयान दिएको प्रहरीले जनाएको छ। 

छिन्ने ओडारको ढुङ्गामा बसेर गफ गर्दा किशोरहरूले इशरा र सरस्वतीसँग ‘मायाको चिनो’बापत चुन्नी(दोपट्टा) मागेका थिए। तर, किशोरीले दिन मानिनन्।  यस्तोमा ६९ मङ्गलसेन ७६ ले इशराको चुन्नी खोसेर ६९ मङ्गलसेन ७३ लाई दिएका थिए। यस्तै सरस्वतीले चुन्नी नदिएपछि ६९ मङ्गलसेन ७६ले उनको इयरफोन खोसेका थिए। 

यस क्रममा केटाकेटी बिचमा विवाद भएपछि दुवै समूह केही बेर छुट्टिएका थिए। यस क्रममा इशरा बाख्रा हेर्न केही टाढा जान्छिन्। यस्तोमा ६९ मङ्गलसेन ७६ सरस्वती नजिक गएर प्रेम प्रस्ताव राख्छन्। सँगै उनले यौन सम्बन्धको पनि प्रस्ताव राख्छन्। प्रहरीका अनुसार उनले ‘विवाह गर्ने भएपछि मात्र दिन्छु’ भनेकी थिइन। ती किशोरले आफ्नो उमेर कम भएको भन्दै ५/६वर्षपछि गरौँला भनेका थिए। त्यसमा सरस्वतीले मानिनन्। 

त्यसपछि ६९ मङ्गलसेन ७६ले आफ्नो यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पछाडिबाट सरस्वतीको टाउकामा ढुङ्गाले हानेको बयान दिएको प्रहरीले जनाएको छ। त्यही अवस्थामा बेहोस भएर ढलेसँगै उनको मृत्यु भयो। 

टाढा पुगेकी इशराले यो घटना तत्काल थाहा पाइनन्। सरस्वतीको मृत्यु भएपछि भवितव्य देखाउन उनको शव भएतिर ६९ मङ्गलसेन ७६ले ढुंगा लडाए। जसमा ६९ मङ्गलसेन ७३ले पनि सघाए। 

यता ढुंगा लडाएर कराएको आवाज सुनेपछि इशरा घटना भएतर्फ आइन्। जहाँ सरस्वतीको मृत शरीर बीभत्स अवस्थामा देखिन्। इशरालाई दुवै जनाले लडेको ढुंगा लागेर मृत्यु भएको विश्वास दिलाउन खोजे। तर उनी पत्याइनन्। हत्या गरेको गाउँलेलाई भन्छु भन्न थालेपछि दुवै जना मिलेर उनको पनि हत्या गरेको प्रहरीले निष्कर्ष छ। 

यता दुवैको हत्यापछि पनि उनीहरूले भवितव्य देखाउन शव भएतिर धेरै ढुंगा लडाएका थिए। यसरी एकैसाथ अस्वाभाविक ढङ्गले घटनास्थलमा ढुंगा देखेपछि प्रहरीले त्यहीबाट अनुसन्धान सुरु गरेको थियो। 

प्रहरीले विभिन्न सुराकको प्रयोग गरेर अभियुक्तसम्म पुगेको थियो। जसमा अभियुक्तसँगै गएका १० वर्षीय नाबालकले पनि अनुसन्धानमा सघाए। 

अहिले अभियुक्त दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

प्रहरीको अनुसन्धानमा खुलेको विवरण

प्रकाशित: १९ माघ २०८१ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App