प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहानै इलेक्ट्रिक गाडी (ईभी) मा लुकाएर लैजाँदै गरेको अवस्थामा ११२ किलो ७९० ग्राम गाँजासहित उनीहरुलाई हेटौंडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी बसामाडीबाट खटिएको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका-३, बसामाडीस्थित पूर्व-पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।
प्रहरीका अनुसार, नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ६५४९ नम्बरको ईभी गाडीलाई रोकेर जाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला परेको थियो।
प्रहरीले गाडी चालक काभ्रेको पाँचखाल नगरपालिका-८ का २१ वर्षीय सुदिप तामाङ, सोही ठाउँका २० वर्षीय सविन तामाङ र दोलखाको सैलुङ गाउँपालिका-८ का २२ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई लागुऔषध तथा सवारी साधनसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८२ १६:५९ आइतबार

