३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
भिडियो

सरकार र दल चुनावमा लागिसके, अब जनता पनि लाग्नु पर्छः हरि शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दलहरूभित्र अहिले देखिएको आन्तरिक हलचल र महाधिवेशनको हतारोलाई जेन-जी अन्दोलनकै प्रत्यक्ष प्रभावको रूपमा व्याख्या गरेका छन्।

बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै शर्माले सडकमा उर्लिएको असन्तुष्टिको रापले दलहरूलाई आफ्नो कार्यशैली बदल्न बाध्य पारेको बताए।

शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।

‘सबै दलहरू अहिले आन्तरिक तयारीमा लागेका छन्। एमालेको चुनाव हुँदैछ, कांग्रेस पनि महाधिवेशनको तयारीमा छ,’ शर्माले भने, ‘सायद यो विद्रोह नभएको भए र यसले दलहरूमा कम्पन नल्याएको भए यति चाँडो यी गतिविधिहरू हुने थिएनन् होला। यो पुस्तान्तरणको आवश्यकतालाई आन्दोलनले सतहमा ल्याइदिएको हो।’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीलाई रूपान्तरण गर्ने भन्दै आफैँ संयोजक बनेको विषयमा शर्माले व्यङ्ग्यात्मक टिप्पणी गरे।

‘उहाँले आफूलाई कार्यवाहक वा संयोजकमा लगे,’ शर्माले भने, ‘उहाँले पार्टीलाई साँच्चै परिवर्तन गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी छ। तर तत्कालका लागि उहाँले एक किसिमको ‘कस्मेटिक पिक्चर’ सिर्जना गर्नुभएको छ।’

उनले अन्य दलहरूले पनि साँच्चै सुधार गर्न खोजेका हुन् वा आन्दोलनको आक्रोश मत्थर पार्न ‘कस्मेटिक’ सुधार मात्र देखाउन खोजेका हुन्, त्यो भने समयले बताउने उल्लेख गरे।

दलका केही नेताहरूले जेन-जी आन्दोलनलाई षड्यन्त्रको रूपमा व्याख्या गर्न खोजेको प्रति शर्माले असहमति जनाए। उनले यसलाई लोकतन्त्रभित्रको स्वाभाविक प्रक्रिया र समयको मागको रूपमा बुझ्नुपर्ने बताए।

‘एकथरी मान्छे यसलाई षड्यन्त्रको आँखाले हेर्छन्। तर म यसलाई लोकतन्त्रवादीको हैसियतले लोकतन्त्र र समयको विरोधाभासबाट निस्किएको विद्रोह मान्छु,’ उनले भने, ‘जुन स्पिड र डिस्ट्रक्सन भयो, त्यो कुनै नियोजित षड्यन्त्र भन्दा पनि लामो समयदेखि गुम्सिएको असन्तुष्टिको विष्फोट हो।’

प्रकाशित: ६ पुस २०८२ १८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App