१० कार्तिक २०७७ सोमबार
भिडियो

सम्पूर्ण आकाशमा विचरण गर्दा

पुस्तक समीक्षा

नेपाली साहित्यमा कथा विधाको इतिहास दुई शताब्दीभन्दा पुरानो छ। यद्यपि आधुनिक कथाको युग भने निकै ढिलो प्रारम्भ भएको पाइन्छ। राणा शासनकालमै नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित साहित्यिक पत्रिका ‘शारदा’ले विक्रम संवत् १९९२ मा गुरूप्रसाद मैनालीको ‘नासो’ कथा प्रकाशित गरेपछि नेपाली कथा साहित्यको आधुनिक चरण प्रारम्भ भएको मानिन्छ। त्यसअघिका कथाहरू प्रायः धार्मिक, पौराणिक, लोककथा, दन्त्यकथा, परिकथा आदि किसिमका थिए। त्यसैले नेपाली कथा साहित्य इतिहासको कुरा गर्दा स्वस्थानीको कथा, पिनासको कथा, पञ्चतन्त्रको कथा आदिलाई समेत स्थान दिने गरिएको छ। अझ रामायण, महाभारत, विभिन्न पुराणहरू सदियौँदेखि नेपाली जनमानसबीच कथाको अजस्र स्रोतका रूपमा रहिआएका छन्।  

हाम्रो कथा साहित्यले आधुनिक चरणमा प्रवेश गरेपछि पुरुष कथाकारका साथै महिला कथाकारहरूले पनि यस विधालाई समृद्ध बनाउन आ–आफ्ना मन–मस्तिष्क र कलम घोटेका पाइन्छन्। पछिल्लो समय राजनीतिक, सामाजिक परिवेशमा आएको परिवर्तनसँगै महिला कथाकारहरू निकै उत्साहजनक रूपमा अघि बढिरहेका देखिन्छन्। विक्रम संवत् १९९२ मै शारदा पत्रिकाले कुमारी तुषारमल्लिकाको ‘स्त्रीरत्न’ कथा प्रकाशित गरेर आधुनिक नेपाली कथाकारितामा नारी हस्ताक्षरको शिलान्यास गर्ने ऐतिहासिक काम गरेको थियो।  

पुस्तकको पहिलो कथा ‘पहिलो माया’ देखि अन्तिम कथा ‘अन्तिम निर्णय’ सम्म विचरण गर्दा  प्रस्तुत कृति मूलतः मध्यमवर्गीय नेपाली परिवारका महिलाहरूका भोगाइलाई सरल र सरस शैलीमा  प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ।

त्यसपछि देवकुमारी थापा, विद्यादेवी दीक्षित, लोकप्रियादेवी जोशी हुँदै पारिजात, प्रेमा शाह, अनिता तुलाधर, माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, चन्द्रकला नेवा, हिरण्यकुमारी पाठक, भुवन ढुङ्गाना, सीता पाण्डे, आन्विका गिरी, नीलम कार्की निहारिका, शारदा शर्मा आदिले नारी कथाकारिताको यात्रालाई निरन्तरता दिएको पाइन्छ। महिला शिक्षामा आएको वृद्धि, साहित्य लगायत सिर्जनाका क्षेत्रमा महिला वर्गको उत्साहजनक सहभागिता आदि कारण गत तीन दशकदेखि साहित्यका अन्य विधामा जस्तै कथा विधामा पनि नारी सक्रियता निकै बढेको छ। त्यही शृंखलाको पछिल्लो कडीका रूपमा नवोदित कथाकार शोभा ज्ञवाली आफ्ना २५ कथाहरूको सँगालो ‘सम्पूर्ण आकाश’ लिएर कथाकारको पंक्तिमा उभिन आइपुग्नुभएको छ।  

कथाकार ज्ञवालीले आफ्नो प्राक्कथन ‘कथाको कथा’मा उल्लेख गरेअनुसार विशेषगरी ‘नागरिक’ दैनिक र ‘परिवार’ मासिकमा प्रकाशित आफ्ना कथामध्ये २५ वटा कथा समेटेर ‘सम्पूर्ण आकाश’ पाठकसमक्ष ल्याइएको हो। पुस्तकको पहिलो कथा ‘पहिलो माया’देखि अन्तिम कथा ‘अन्तिम निर्णय’सम्म विचरण गर्दा प्रस्तुत कृति मूलतः मध्यमवर्गीय नेपाली परिवारका महिलाका भोगाइलाई सरल र सरस शैलीमा प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ। अझ भन्ने हो भने यी सबैजसो कथालाई कोरा कल्पना नभएर कथाकार आफैँले भोगेका, देखेका, सुनेका प्रसङ्गहरूको साहित्यिक लिखत भन्न सकिन्छ। यी कथाहरू हिजो वा भोलिका नभएर आजका कथा हुन्, त्यस अर्थमा आजका मध्यमवर्गीय नेपाली नारीहरूले भोगिरहेका व्यथा पनि हुन्।

कथाकार ज्ञवालीले प्राक्कथनमा स्विकारेजस्तै यी कथाहरू कथा साहित्यको कुनै शास्त्रीय सिद्धान्त, सूत्र वा तोकिएको ढाँचाभित्र बाँधिएका छैनन्। वास्तवमा हुनुपर्ने पनि त्यही हो। कुनै साहित्यिक विधा कथा, कविता, उपन्यास, निबन्ध आदि जेसुकै भए पनि त्यसले अनुशरण गर्नुपर्ने दुईवटा मात्र सिद्धान्त वा सूत्र छन्– पाठकका लागि रुचिपूर्ण होस्, पढ्दापढ्दै बीचैमा छोड्न पाठक बाध्य नहोस्। र, अर्को लेखकीय इमानदारीमा कुनै कमी नहोस्। यी दुईबाहेक अरू तपसिलका कुरा हुन्। यस दृष्टिले हेर्दा ‘सम्पूर्ण आकाश’ की कथाकारले आफ्ना कथाहरू कथाको शास्त्रीय सिद्धान्त र परिभाषाभित्र पर्छ कि पर्दैन भनेर चिन्ता नगर्ने बनाएको सोच स्वाभाविक लाग्छ।  

कथाकार पुरुष वा महिला जो भए पनि नारी विषयक कथामा खासगरी दुई प्रवृत्ति प्रबल रूपमा पाइन्छन्– विगतमा नारीहरूले भोग्नुपरेका पीडा, सहनशीलताका नाममा उत्पीडन सहनुलाई नै नियति सम्झनुपर्ने बाध्यता आदि चित्रण गरिएका कथा धेरै लेखिए भने पछि नारीले गरेका र गर्नुपर्ने संघर्ष, सामाजिक विद्रोह, यौनिक विद्रोह आदि विषयले कथामा बलियो स्थान बनाए। पछिल्लो विषयगत प्रवृत्तिको छनक ‘सम्पूर्ण आकाश’मा पनि स्पष्ट पाइन्छ। कथा सङ्ग्रहमा माया पिरतीका उकाली–ओराली, जातीय भेदभाव, निःस्वार्थ समाज सेवा, सत्कर्मका लागि प्रेरणालगायतका विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएका कथा छन्।  

‘सपना’ कथामा उल्लिखित एक प्रसङ्ग ‘मानिस आफू बन्नुमा जति खुसी हुन्छ, त्योभन्दा दोब्बर र अद्भूत खुसी र शान्ति अरूलाई बनाउँदा पाउँछ’ जस्ता वाक्यहरू निकै मननीय लाग्छ। ‘निस्वार्थ प्रेम’ कथामा चित्रित हिन्दु–मुस्लिम दंगाको बेलामा एउटी मुस्लिम किशोरीले एक हिन्दु युवकलाई आफ्नो घरमा लुकाएर बचाएको सन्दर्भ निकै रोचक छ। यसैगरी ‘त्याग’ क्यान्सर रोगको मार्मिकतामा आधारित मन छुने कथा हो। यदि कुशल निर्देशकको हातमा पर्ने हो भने ‘रेड रोज’ जस्ता कथाहरू लघु चलचित्र (सर्ट मुभी) मा रूपान्तरण हुन सक्छन्।  

‘त्याग’ क्यान्सर रोगको  मार्मिकतामा आधारित मन छुने कथा हो । यदि कुशल निर्देशकको हातमा पर्ने हो भने ‘रेड रोज’ जस्ता कथाहरू लघु चलचित्र (सर्ट मुभी) मा रूपान्तरण हुन सक्छन् ।

कथाकारले आफूलाई ‘सिकारु’ भने पनि ‘सम्पूर्ण आकाश’का सबै कथा पढिसक्दा कथाकार सिकारु श्रेणीबाट एक खुट्किलो माथि उक्लिसकेको अनुभूत गर्न पाठक बाध्य हुनेछन्। यद्यपि कथाकारले आगामी दिनमा हेक्का राख्नुपर्ने केही पक्षबारे पनि उल्लेख गर्नु प्रासङ्गिक हुनेछ। पहिलो कुरो कथा लेखनमा निरन्तरता हुनु जरुरी छ। किनकि कैयौँ प्रतिभाहरू केही छोटो समयसम्म मात्र लेखनमा सक्रिय रही पछि हराएका पाइन्छन्। कथा विधामा पनि यस्ता धेरै उदाहरण पाइन्छ। एउटा राम्रो सम्भावना बोकेकी नवोदित कथाकारको लेखन यात्रा बीचमै अवरुद्ध नहोस् भन्ने चाहना कथाप्रेमी सबै पाठकको हुन्छ।  

दोस्रो कुरा कथाकारले कथाको विषयमा विविधता ल्याउनु जरुरी छ। मध्यमवर्गीय महिला मात्र होइन, हरेक वर्गका महिला, पुरुषको आँसु र हाँसो समेट्नु जरुरी छ। गिट्टी कुटेर छाक टार्ने महिलालाई सबभन्दा रमाइलो कतिखेर लाग्दो हो ? त्यस्तै, मृत्यु पर्खेर बसेका वृद्धको मनमा कति गाँठा होलान् ? दूरदराज गाउँकी निरक्षर हजुरआमाको मनभित्र कथाका कति बीउ त्यत्तिकै सुकेर गएका होलान्, यस्ता विषयमा कथा लेख्न सकिँदैन र ? ‘सम्पूर्ण आकाश’ मा बालमनोविज्ञानमा आधारित कथा एउटा पनि छैन। त्यस्तै कथामा भौगोलिक विविधता पनि एक सफल कथाकारले हेक्का राख्नुपर्ने पक्ष हो।  

कथाको परिवेशले नै मागेको अवस्थामा बाहेक नेपाली कथामा अंग्रेजी वा हिन्दी शब्दहरूको प्रयोग सकेसम्म कम भएकै वेश। प्रत्येक कथाको आरम्भमा दिइएको आकर्षक चित्रले कथाप्रति कौतुहल जगाउन योगदान गरेको छ। कथाकार ज्ञवालीले कहिलेदेखि कथा लेख्न थाल्नुभएको हो र पहिलो प्रकाशित कथा कुन हो र कहिले ? यी जिज्ञासाको उत्तर पुस्तकभर कतै पाइँदैन। पाठक वर्गलाई खासै आवश्यक नपरे पनि समीक्षक, समालोचक, साहित्यिक इतिहासकार आदिका लागि भने आवश्यक पर्ने तथ्य हुन् यी। अन्त्यमा, नवोदित कथाकारको कृतिलाई बजारसम्म्म पु-याउने मञ्जरी पब्लिकेसन्सलाई पनि धन्यवाद भन्नुपर्छ।  

कथासंग्रह: सम्पूर्ण आकाश  

विधा  ः कथा  

कथाकार  ः शोभा ज्ञवाली  

प्रकाशक  ः मञ्जरी पब्लिकेसन्स  

पृष्ठ संख्या : २३२ ।

मूल्य रु.  ः ३८५।–  

(कथासंग्रह ‘सम्पूर्ण आकाश’ आज घटस्थापनाका दिन विमोचन हुँदैछ र आजैदेखि बजारमा उपलब्ध छ ।)

प्रकाशित: १ कार्तिक २०७७ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App