८ वैशाख २०८१ शनिबार
भिडियो

किन बढिरहेको छ सुनको भाउ ?

काठमाडौं– सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड तय गरेको छ। पाँच दिन अघि बिहीबार प्रतितोला ७४ हजार पाँच सय रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ७६ हजार रुपैयाँ पुगेको छ।

पाँच दिनको अन्तरालमा सुनको मूल्यमा प्रतितोला २५ सय रुपैयाँले वृद्धी भएको हो। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय तोकिएको छ। यता चाँदीको मूल्यमा पछिल्ला पाँच दिनमा प्रतितोला ९० रुपैयाँले वृद्धि भई ९२० रुपैयाँ पुगेको छ।

अघिल्लो साल ०७५ पुष २२ मा सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो। त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो। तर फेरी एकसाता याता सुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।

यस्तो छ वृद्धिको कारण

अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि अहिले विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ। अघिल्लो बिहीबार सुलेमानीलाई अमेरिकाले हत्या गरेको थियो। लगतै त्यसको प्रभाव सुनचाँदीको बजारमा देखा पर्यो। लगानीकर्ता सुरक्षित लगानीको खोजीमा रहेका हुन्छन्।  त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन्। त्यसको असर विश्व सुन बजारमा परिरहेको छ। अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ। यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धी भइरहेको छ।

यस्ता खाले युद्धका कारण सेयर बजारको अवस्था भने कमजोर रहन्छ। आइतबार अन्तर्राष्ट्रिय सेयर बजारमा गिरावट आएको छ। त्यसको सबै भन्दा ठूलो प्रभाव अमेरिकन सेयर बजारमा देखा पर्यो। आइतबार मात्रै अमेरिकन बजारको परिसूचक २३३ दशमलव ९२ अंकले गिरावट आयो। अमेरिकन परिसूचक डो जोन्स् इन्डस्ड्रिज एरेजमा समग्रममा शुन्य दशमलव ८१ प्रतिशतले गिरावट आएको हो।

यता अमेरिककै अर्को परिसूचक एस एन्ड पी फाईभ हन्ड्रेड इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले गिरावट आएको छ। त्यता ब्राजिलको ब्राजिल बोभेस्पा स्टक इन्डेक्समा पनि शून्य दशमलव ७३ प्रतिशतले गिरावट आएको छ।

पछिल्ला दिनमा अमेरिका र इरानबीचको टकरावकाको असर युरोपियन बजारमा पनि देखा परेको छ। युरोपयिन पुँजी बजारको इन्डेक्स युरोनेक्ट हन्ड्रेडमा पनि शून्य दशमलव ८८ अंकले गिरावट आएको छ।

जर्मनीको डाक्समा पनि १६६ दशमलव ७९ अंकले गिरावट आएको छ। यता फ्रान्स इङ्ल्याड र स्वीजरल्याण्डका लगानीकर्ता भने पुँजी बजारमा लगानी गर्न डराएका देखिदैंनन्। उक्त देशका पुँजी बजारको परिसूचक हरिया देखिन्छन्।

एसियाको पुँजी बजार

अमेरिका र इरानबीचको युद्धको मनोविज्ञान एसियाली बजारमा नराम्ररी परेको देखिन्छ। यसको असर चीनको शक्तिशाली बजारदेखी भारतको उदयमान बजारसम्म परेको छ। सुलेमानी मारिएको देश इरानमा पनि सेयर बजारका लगानीकर्ता निरुत्साहित देखिन्छन्। जनावरी एकदेखि पाँचसम्म उक्त देशको सेयर बजार परिसुचक टेडपिक्स स्टक मार्केटमा ४ सय ४० अंकले गिरावट आयो। तर उक्त देशको खनिज र तेलजन्य मूल्यमा भने भारी वृद्धि भएको छ। 

चीनको सांइघाइ से कम्पोजिट इन्डेक्समा शुन्य दशमलव शून्य एक (यो समाचार तयार पार्दासम्म) प्रतिशतले गिरावट आएको छ। त्यस्तै भारतको मुम्बाई सेन्सेक्समा एक दशमलव ७१ प्रतिशतले गिरावट आयो। हङकङको हाङसेङमा शून्य दशमलव ९३ प्रतिशत, जापनको निक्की २२५ मा एक दशमलव ९१ प्रतिशतले गिरावट आयो। यता अस्ट्रेलियाको अस्ट्रेलियन एसएक्समा भने सेयर बजार सकारात्मक देखिएको छ।

 

नेपाली सेयर बजारको अवस्था

अन्तर्राष्ट्रिय बजारमा सेयर बजार ऋणत्मक हुँदा नेपालमा भने ठिक विपरित देखिएको छ। अमेरिका र इरानबीच द्वन्द्व चलिरहँदा नेपाली सेयर बजार हरेक दिन सकारात्मक देखियो। जनावरी २ अर्थात अघिल्लो बिहीबारदेखी सोमबारसम्म आउँदा नेपाली पुँजी बजारको मापक नेप्से ११६६ दशमलव २२ बाट १२०० दशमलव ६९ अंकमा पुगेको छ।

पाँच दिनको अन्तरालमा नेप्सेका ३४ दशमलव ४७ अंकले सुधार आयो। सोमबारमात्रै सेयरमा १८ दशमलव २६ अंकले सुधार आयो। अमेरिका र इरानबीच द्वन्द्वको हल्ला नहुन्जेल नेप्सेमा लगानीकर्ता खासै आकर्षित भएको देखिदैनन्।

सेयर र सुनचाँदी बजारबीचको सम्बध

लगानीकर्ता सुरक्षित लगानीको खोजीमा रहन्छन्। अंकको आधार पुँजी बजारमा लगानी गरिन्छ। यदी अमेरिका र इरानबीचको अवस्थाले भयङकर रुप लिने अवस्था आयो भने अवश्य पनि त्यो अंकमा गिरावट आउँछ। त्यसैले पनि विश्वका लगानीकर्ता सेयर बजारमा लगानी गर्न डराएका छन्। तर सुनचाँदी जस्ता पुँजीमा गरिएको लगानी भने धेरैहदसम्म सुरक्षित हुन्छ। त्यसैले पनि विश्वका लगानीकर्ता सुनचाँदीमा आकर्षित भएका छन्। माग बढ्दा पुर्तीमा कमि आउने अर्थशास्त्रको सिद्धान्त अनुसार सुनको पुर्तीमा अहिले विश्व बजार मै परिरहेको छ। त्यसैको प्रभावले सुनचाँदीको मूल्यमा समेत वृद्धी भएको छ।  सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति आउन्स सुनको मूल्य १५५३ दशमलव ३० अमेरिक डलर थियो। एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो।

नेपाली लगानीकर्ता सेयरमा आकर्षित, सुनमा डराए

अन्तर्राष्ट्रिय बजारमा सेयर मूल्य ओरालो लाग्दा नेपाली लगानी भने झनै उत्साहित भएर लगानी गरिरहेका छन्। लगानीकर्ताहरु सुनमा लगानी गर्न डराएका देखिन्छन्। अमेरिका र इरानको द्वन्द्वले नेपाली सेयरबजारलाई उकासेको छ। तर लगानीकर्ताले ढुक्क भएर सेयरमा लगानी गरेका भने होइनन्। सुनको मूल्य यथावत् नरहला भन्ने मनोविज्ञानका कारण पनि लगानीकर्ता सुनमा लगानी गर्न डराएका हुन्।

‘अहिले सुनचाँदीको व्यवसाय सुनसान छ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले भने,‘अन्तराष्ट्रिय बजारमा लगानीकर्ता सुनमा आकर्षित भएपनि नेपालमा भने आकर्षित भएका छैनन्।' उनले विवाहको सिजन नजिकिएपनि व्यापारमा कमि आएको बताए।

प्रकाशित: २१ पुस २०७६ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App