२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
प्रविधि

हट्दै युट्युबको ‘ट्रेन्डिङ पेज’, अब यसरी देखाइनेछ लोकप्रिय ‘कन्टेन्ट’

भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो चर्चित ‘ट्रेन्डिङ’ पेज र ‘ट्रेन्डिङ नाउ’ सूचीलाई बन्द गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रयोगकर्ताको व्यवहारमा आएको परिवर्तनलाई मुख्य कारण देखाउँदै अब लोकप्रिय सामग्रीहरूलाई फरक र विशिष्ट तरिकाले प्रस्तुत गर्ने योजना बनाएको हो।

युट्युबले जारी गरेको एक विज्ञप्तिमा दर्शकहरूले अब युट्युबका विभिन्न स्थानहरू, जस्तैः सिफारिस, सर्च, सर्ट्स, कमेन्ट र कम्युनिटी पोस्टबाटै ट्रेन्डबारे जानकारी पाउन थालेको बताएको छ।

‘यी परिवर्तनहरूसँगै, विशेषगरी पछिल्लो पाँच वर्षमा भिजिटर ट्रेन्डिङ पेजमा आउनेको संख्यामा उल्लेख्य कमी आएको छ,’ कम्पनीले भनेको छ।

सन् २०१५ मा ‘के ट्रेन्डिङमा छ ?’ भन्ने प्रश्नको जवाफ दिन सुरु गरिएको यो पेजलाई अब युट्युबले क्रमशः हटाउने भएको हो।

ट्रेन्डिङ पेज हटेपछि अब प्रयोगकर्ताहरूले ‘युट्युब चार्ट्स’ अन्तर्गत विभिन्न विधामा सबैभन्दा लोकप्रिय सामग्रीहरू हेर्न सक्नेछन्।

चार्ट्समार्फत ट्रेन्डिङमा रहेका संगीत, साप्ताहिक लोकप्रिय पोडकास्ट र चर्चित फिल्मका ट्रेलरहरू हेर्न सकिनेछ।

भविष्यमा युट्युबले अन्य विभिन्न प्रकारका सामग्रीहरूलाई समेट्न थप विधाहरू पनि थप्ने योजना बनाएको छ। गेमिङमा रुचि राख्नेहरूका लागि ‘गेमिङ एक्सप्लोर पेज’ अन्तर्गत एउटा छुट्टै पृष्ठ नै समर्पित गरिनेछ।

युट्युबले अब कन्टेन्ट निर्माताहरूका लागि पनि नयाँ सुविधा ल्याउने भएको छ। युट्युब स्टुडियो भित्र रहेको ‘इन्स्पिरेसन’ ट्याबमा निर्माताहरूलाई उनीहरूका दर्शकमाझ के लोकप्रिय छ भन्नेबारे व्यक्तिगत सुझावहरू दिइनेछ। यसले उनीहरूलाई भिडियोको विषय छनोट गर्न मद्दत गर्नेछ।

साथै, साना निर्माताहरूलाई प्रोत्साहन दिन ‘हाइप’ नामक नयाँ फिचर पनि ल्याइनेछ। यसको काम दर्शकहरूलाई आफूलाई मन परेका नयाँ भिडियोहरूलाई थप प्रवर्द्धन गर्नु रहेको छ।

सन् २०१५ मा सुरु भएको ट्रेन्डिङ पेजले विश्वभर युट्युबमा के भइरहेको छ भन्ने जानकारी दिन्थ्यो। यो पेज व्यक्तिगत रुचिका आधारमा नभई सबैका लागि एउटै हुन्थ्यो र यसमा फिल्मका ट्रेलर, नयाँ गीत वा भाइरल भिडियोहरू देखाइन्थ्यो।

प्रकाशित: ६ श्रावण २०८२ २१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App