नेपालमा विकास भएको सूचना प्रविधि विदेशमा विस्तार हुने क्रमसँगै एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको प्रमुख दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटाको बजारमा प्रवेश गरेको छ।
टिङटिङको विकासकर्ता प्रिक्साले डायलग आजियाटासँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको हो। सम्झौतामा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार टिङटिङले श्रीलङ्काली बजारमा विभिन्न सञ्चारसम्बन्धी सेवा तथा प्रविधि उपलब्ध गराउनेछ। कम्पनीका अनुसार यसको ‘कम्युनिकेशन सुइट’ अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चारवटा सेवा समेटिएका छन्।
‘टिङटिङ कनेक्ट’ संस्थाको आफ्नै पूर्वाधारमा जडान गर्न सकिने प्रणाली हो। त्यस्तै, ‘टिङटिङ ओम्नी’ले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न माध्यमबाट आउने ग्राहक संवादलाई एउटै इनबक्समा व्यवस्थापन गर्ने सुविधा दिन्छ।
‘टिङटिङ ब्रोडकास्ट’मार्फत ठूलो संख्यामा ग्राहकलाई स्वचालित भ्वाइस कलबाट सूचना तथा रिमाइन्डर पठाउन सकिने कम्पनीले जनाएको छ। ‘टिङटिङ एजेन्ट्स’ले भने स्थानीय भाषामा ग्राहकसँग संवाद गर्ने र आवश्यक परे मानव एजेन्टमा संवाद हस्तान्तरण गर्ने सुविधा समेटेको छ।
यी सेवाहरू नेपालीसँगै अङ्ग्रेजी र सिंहली भाषामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। श्रीलङ्कामा प्रयोग विस्तार गर्ने क्रममा तमिल र सिंहली भाषाका लागि थप परिष्कृत भ्वाइस मोडल विकासको काम पनि भइरहेको बताइएको छ।
प्रिक्साका प्रमुख कार्यकारी अधिकृत शर्माले डायलगसँगको सहकार्यलाई नेपाल र श्रीलङ्काबीच प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसबाट दुवै देशबीच प्रविधिमा आधारित व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्न सक्छ।
नेपाली सफ्टवेयर तथा सूचना प्रविधि कम्पनीहरूले विदेशी बजारमा सेवा विस्तार गरिरहेका बेला श्रीलङ्काको दूरसञ्चार क्षेत्रमा टिङटिङको प्रवेशलाई नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय विस्तारको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।
प्रकाशित: ६ भाद्र २०८३ १७:५१ शनिबार



-600x400.jpg)

