नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कासम्म विस्तार गरेको छ। यसक्रममा कम्पनीले त्यहाँको ‘इफेक्टिभ सोलुसन्स’सँग व्यावसायिक सञ्चार प्रणालीका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित सेवा प्रदान गर्ने सम्झौता गरेको हो।
इफेक्टिभ सोलुसन्सले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न चाहने संस्थाहरूलाई सेवा दिँदै आएको छ। यो कम्पनी ‘ट्रेस’ नामक श्रीलङ्काको सार्वजनिक संस्थामा सूचीकृत छ, जसले नयाँ व्यवसाय, आविष्कार र उद्यमशीलतालाई प्रोत्साहन गर्दै सहयोग पुर्याउँछ।
टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको जनाएको छ। यसअघि कम्पनीले नेपालमा बैंक, बीमा संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीष शर्माका अनुसार नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरूप टिङटिङले आफ्नो गतिविधि विस्तार गरिरहेको छ। “हामी विश्वव्यापी रूपमा विस्तार हुने योजनामा छौँ। श्रीलङ्का विस्तार त्यही अभियानको महत्वपूर्ण पाइला हो,” उनले भने। उनले नेपालमा रोजगारी सिर्जना गर्न सूचना प्रविधि क्षेत्रको विस्तार अपरिहार्य रहेको पनि उल्लेख गरे।
इफेक्टिभ सोलुसन्सका निर्देशक हमिन्दा जयवेराले नेपाली कम्पनीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसबाट श्रीलङ्काका उद्यमी र सेवा प्रदायकलाई ठुलो लाभ पुग्ने विश्वास व्यक्त गरे।
हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल केन्द्रमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्ने गरेका छन्। यसका कारण सन्देश छुट्ने, प्रतिक्रिया ढिलो आउने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने र सेवा गुणस्तर मापनमा कठिनाइ हुने समस्या देखिएका छन्।
यिनै चुनौती समाधान गर्न टिङटिङले कृत्रिम बुद्धिमत्ता–सञ्चालित एकीकृत सञ्चार प्रणाली श्रीलङ्कामा ल्याएको हो। ‘टिङटिङ सूट’ अन्तर्गत कल प्रसारण, पाठ सन्देश, फाराम, एजेन्ट, बहु–माध्यमीय संवाद (ओम्नी) तथा जडान (कनेक्ट) जस्ता सेवाहरू समेटिएका छन्।
यी सेवाले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीय संवाद व्यवस्थापन र कल केन्द्र सञ्चालनलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सहयोग पुर्याउँछन्। साथै, प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, एआईद्वारा तयार सारांश र प्रत्यक्ष विवरण प्यानलमार्फत सम्पूर्ण संवादको स्पष्ट दृश्यता उपलब्ध हुन्छ।
कम्पनीका अनुसार यसले व्यवस्थापनलाई ग्राहक धारणा बुझ्न, सेवा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न र समग्र सेवा गुणस्तर उकास्न सहयोग पुर्याउँछ।
व्यावसायिक सञ्चारलाई सरल, सहज र एकीकृत बनाउने लक्ष्यका साथ टिङटिङले काम गरिरहेको छ। यसअघि कम्पनीले ‘वेब समिट कतार २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलङ्कामा सेवा विस्तारसँगै “नेपालमा बनेको, विश्वका लागि” भन्ने नारालाई थप सार्थक बनाएको कम्पनीले जनाएको छ।
प्रकाशित: २३ वैशाख २०८३ ०७:१३ बुधबार





