२१ मंसिर २०८२ आइतबार
image/svg+xml
प्रविधि

नेपाल–जापान आईटी फोरम २०२५ काठमाडौंमा सम्पन्न

डिजिटल साझेदारी मार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ युगमा प्रवेश गराउने उद्देश्यका साथ काठमाडौंमा नेपाल–जापान आईटी फोरम २०२५ सम्पन्न भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा डिजिटल साझेदारीलाई आगामी दशकको प्राथमिक क्षेत्र मान्दै नेपाल–जापान सम्बन्धलाई सूचना प्रविधि र नवप्रवर्तनको नयाँ युगमा प्रवेश गराउने घोषणा समेत गरेको छ ।

जापान नेपाल  आइटी संघको आयोजना तथा टीएआईको सह आयोजनामा पहिलो पटक काठमाडौंमा आयोजित नेपाल–जापान आईटी फोरम यसअघि नै जापानमा तीन वर्षसम्म आयोजना भइसकेको छ । कार्यक्रममा जापान तथा नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था तथा विज्ञहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई डिजिटल अर्थतन्त्रमा रूपान्तरण गर्न सरकारले नीति, कानुन र लगानीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको बताए । उनले आईटी क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउने सरकारको योजना रहेको बताउँदै यस्ता फोरमले देशमा थप रोजगारी र आइटी क्षेत्रको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता रहेको बताए । जापानको बढ्दो सूचना प्रविधिको मागलाई नेपाली बजारसम्म ल्याउन यस्ता छलफललाई निरन्तरता दिनुपर्ने उनको धारणा थियो । 

सांसद डा स्वर्णिम वाग्लेले नेपाललाई सूचना र प्रविधिको क्षेत्रमा व्यापक विकास गरी देशलाई समृद्ध बनाउनेतर्फ ध्यान दिन सबैलाई आग्रह गरे । उनले विश्व बजारको मागमा नेपाली प्राविधिकहरूले प्रतिस्पर्धा गर्न सक्ने बताउँदै त्यसका लागि वातावरण बनाउन सबैले पहल गर्न पर्नेमा जोड दिए ।

फोरमका आयोजक संस्था जापान–नेपाल आईटी संघका अध्यक्ष शरद राईले सम्भावनाको होइन, समाधानको युगमा प्रवेश गरिरहेको बताउँदै नेपालको जनशक्तिलाई विश्व बजारमा पुर्‍याउन आफ्नो कम्पनीले पहल गरिरहेको बताए । उनले नेपाली  आईटी जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेको उल्लेख गर्दै सङ्गठित रुपमा प्रयास गर्न आह्वान गरे ।

जापानस्थित नानकाई होल्डिङका टाकाहिरो ओत्सुकाले नेपालसँग युवा र दक्ष प्राविधिक जनशक्ति भएको बताउँदै जापानसँग जोड्न पर्ने बताए । उनले यसलाई अवसरका रुपमा उपयोग गर्न आह्वान गरे ।

उनीहरूले नेपालमा लगानी गर्न सकिने वातावरणका बारेमा अध्ययन गरी थप लगानी र अवसरका बारेमा छलफल चलिरहेको जानकारी दिए ।

पूर्व गुगल उत्पादन प्रमुख जोन बी पार्कले नेपालको स्टार्ट अप र टेक उद्यमशीलता विश्व स्तरको हुन सक्ने सम्भावना औँल्याउँदै नेपाल अब सस्तो श्रम बजार नभई सस्तो समाधान दिने देशको रूपमा विश्वसामु चिनाउनुपर्नेमा जोड दिँदै त्यही गतिमा अघि बढेको अनुभव सुनाए । 

कार्यक्रममा सूचना प्रविधिका विभिन्न विषय र आयममा प्यानल छलफल भएको थियो । 

प्रकाशित: २३ श्रावण २०८२ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App