लन्डन– पोर्नग्राफीका अम्मली तीन न्यायाधीशीलाई वेलायतमा सेवाबाट बर्खास्त गरिएको छ। चारजनामाथि अनुसन्धान भइरहेकोमा एकजनाले छानविन अगाडि नै पद त्यागेका छन्। जुडिसियल कन्डक्ट इन्भेस्टिगेसन अफिसका प्रवक्ताका अनुसार बर्खास्त गरिएका न्यायाधीशहरुले आफ्नो इन्टरनेटको आधिकारिक आइडीबाट पोर्न हेरेका थिए।प्रवक्ताका अनुसार उनीहरुले हेर्ने गरेको पोर्न वेलायतमा गैरकानुनी भने हैन। कानुनमन्त्री तथा लर्ड प्रधान न्यायाधीशले आधिकारिक इन्टरनेट पोर्न हेर्नका लागि नभएको बताए। 'यो किसिमको दुरुपयोग हुनु हुँदैन', उनले भने, 'न्यायिक कार्यालयसँग सम्बन्धित कुनै पनि व्यक्तिको यस्तो व्यवहार स्वीकार गर्न सकिँदैन।'
आफ्नो चेम्बरको कम्प्युटरबाट यस्तै सामग्री हेर्ने चौथा न्यायाधीशले आधिकारिक जाँच सुरु हुनुभन्दा अगाडि नै राजिनामा दिएका छन।
डिस्ट्रिक जज टिमोथी बाउल्स, इमिग्रेसन जज वारेन ग्रान्ट, डेपुटी डिस्ट्रिक जज तथा रेकर्डर पिटर बुलाङ्कलाई सेवाबाट बर्खास्त गरिएको हो। यी तिनै न्यायाधीशहरु एक आपसमा चिनजानका भने थिएनन्।
न्यायाधीशहरु गोप्य चेम्बरमा के गर्छन् भन्ने कुरा धेरै समयदेखि खोजीको विषय रहँदै आएको छ। हरेक न्यायाधीशहरुसँग कम्प्युटर र इन्टरनेट सामान्य कुरा हो।
प्रकाशित: ४ चैत्र २०७१ ००:३९ बुधबार