इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ शेयर गर्न सक्ने नयाँ सुविधा ल्याउने तयारी गरिरहेको छ।
मोशन फोटो भनेको एउटा यस्तो मिडिया ढाँचा हो, जसले फोटो खिच्नुअघि र पछिको केही सेकेन्डको गति र आवाज कैद गर्छ। यो परम्परागत स्थिर तस्बिरभन्दा फरक छ, किनभने यसमा छोटो भिडियो र अडियो पनि समावेश हुन्छ।
‘वाबीटाइन्फो’ का अनुसार व्हाट्सएपले आफ्नो मिडिया शेयर गर्ने क्षमतालाई विस्तार गर्न यो फिचर ल्याउन लागेको हो। फोटो वा भिडियो ग्यालरी खोल्दा प्रयोगकर्ताले मोशन फोटोका लागि छुट्टै बटन देख्नेछन्। यो बटनले स्थिर तस्बिर वा त्यसको गति संस्करण पठाउने विकल्प दिन्छ।
यो सुविधा खासगरी केही स्मार्टफोनमा निकै रुचाइएको छ, जसले स्थिर तस्बिरमा गतिको झल्को थपेर फोटो र भिडियोबीचको दूरी घटाउँछ। सामसुङ ग्यालेक्सी जस्ता स्मार्टफोनमा यो सुविधा पहिलेदेखि नै उपलब्ध छ। हाल आइफोन प्रयोगकर्ताले आइओएसमा यो सुविधा प्रयोग गरिरहेका छन्, तर एन्ड्रोइडका लागि भने यो अझै विकासको चरणमा छ। क्युएनए
प्रकाशित: १० चैत्र २०८१ १२:२८ आइतबार