१० मंसिर २०८१ सोमबार
image/svg+xml
प्रविधि

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

काठमाडौं- कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए।

सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग बिस्तारै ती युवासँग च्याट (लेखेर हुने कुराकानी) हुन थाल्यो। युवाका कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए। अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो। केही महिनाको अन्तरालपछि च्याटमै कमला र युवाको मित्रता प्रेममा परिणत भयो। अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायरा नाघ्दै गए। सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुवैले गोपनीयता भन्ने केही बाँकी राखेनन्। तर, त्यही घनिष्टता अहिले कमलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ। विवाहको मिति र योजनासमेत फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो।

कमलाजस्तै काठमाडौंकी अर्की एक महिलाले फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रुपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन्। तर, उपहार हात पर्न सकेको छैन। ती युवाले उनलाई सुरुमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए। उनलाई सबैभन्दा आकर्षक वस्तुका विषयमा सोधेर सोही वस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए। उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टबाटै सामाजिक सञ्जालबाट हराए।

उनलाई उपहार पठाउन लाग्ने भन्सार महसुल भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो। केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन्। ब्युरोका अनुसार ठगिने सबै महिला छन्। अधिकांशलाई उपहारको लोभ देखाउर भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्युरोले जनाएको छ।

'अमेरिका र युरोपबाटै गिरोहले धन्दा चलाएको देखिन्छ। भारत र नेपालमा रहेका गिरोहका सदस्य रकम लिने र फोन गर्ने कार्यमा जुटेको भेटियो,' ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने। उनका अनुसार धनाढ्य परिवारका गृहिणी गिरोहको पहिलो निसानामा परेका छन्। यस्तै केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। 'हामीले एक हजार पाँच सयको हाराहारीमा युवती तथा महिला ठगिएको अनुमान गरेका छौं, निवेदन आउने क्रम जारी छ। ठगिएका केही महिला परिवारको प्रतिष्ठाका कारण सार्वजनिक हुन चाहेनन्,' सिलवालले भने।

ब्युरोमा परेको उजुरीअनुसार उपहारको लोभमा परी ठगिने महिलालाई अमेरिकामा रहेका युवाले उपहार पठाएको जानकारी दिएपछि आफू बिदामा रहने बताएका थिए। उनले उपहार पठाएको तेस्रो दिन भारतबाट कसैले फोन गर्दै उपहार महँगो भएको र भन्सारमा मिलाउने भन्दै रकम मागेको थियो। नेपालबाट पैसा पठाएको दोस्रो दिन भैरहवाबाट नेपाली युवाले फोन गरी थप रकम माग गरेका थिए। भैरहवामा रकम पठाएको दुई सातासम्म उपहार हात नपरेपछि महिला ब्युरोको सम्पर्कमा पुगेकी हुन्।

'हामीले ठग गिरोहको निर्देशनमा रकम पठाउन सघाउने दुईजनालाई पक्राउ गरेका छौं। सामाजिक सञ्जालमार्फत भएको कुराकानीका आधारमा व्यक्ति पहिचान र पक्राउ गर्न समय लाग्छ, अनुसन्धान जारी छ,' ब्युरोकी एसपी मिरा चौधरीले भनिन्। उनले यस्तै प्रकारको ठगीको घटना केही महिनाअघि मकवानपुरमा समेत भएको बताइन्।

ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका अनिलनाथ श्रेष्ठ र काठमाडौं बनस्थलीकी अनीता महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

डिआइजी सिलवालका अनुसार गिरोहका सदस्यमध्ये एउटा समूहले नेपालमा रहेका धनाढ्य गृहिणी र जागिरे युवती पहिचान गर्ने, गिरोहकै अर्को समूहले साथी बनाएर उपहार पठाएको भन्नेसम्मको चरण पूरा गर्ने र अन्य सदस्यले रकम व्यवस्थापन गर्ने गरेका छन्। गिरोहले एक लाखदेखि २० लाखसम्म उपहार, वैदेशिक रोजगार र विवाहको प्रलोभन देखाएर सयौं महिलाबाट रकम ठगेको सिलवालले बताए।

'पत्याउनै नसक्ने परिवारका पढेलेखेका महिला पीडित भएको भेटियो, गिरोहका सदस्यले आफू युरोपका विभिन्न देश र अमेरिकामा बसोबास गर्ने नेपाली भएको विश्वास दिलाएपछि मात्र ठग्ने योजना अघि सार्ने गरेका छन्,' सिलवालले थपे, 'कसैले भनेकै भरमा पत्याउँदा यहाँ अस्मिता र सम्पत्ति दुवै खतरामा परेका हुन्।'

ब्युरोले घटनाको अनुसन्धानका लागि फेसबुकको प्रधान कार्यालय र इन्टरपोलसमेतको सहयोग लिने भएको छ। 'आवश्यकताअनुसार समकक्षी प्रहरी र निकायको सहयोग लिएर घटनाका दोषीलाई पक्राउ गर्न ब्युरो जुटेको छ। ठगिनबाट बच्न सचेतनासमेत आवश्यक छ,' एसपी चौधरीले भनिन्।

प्रकाशित: ३ पुस २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App