१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
प्रविधि

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो। एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन्।

आईओएस १० मा के छ ?

आईओएस १० मा आफ्नो मेसेजिङ एप ‘आई म्यासेज’लाई विशेष ध्यान दिइएको छ । मल्टिमिडिया फिचर रहेको म्यासेजिङमा स्टिकर, एनिमेसन र इमोजी किबोर्ड राखिएको छ । प्रयोगकर्ताले आफ्नो हस्तलिखित सन्देशलाई पनि पठाउन सक्नेछन् । नदेखिने मसीको प्रयोग गरेर सन्देश पठाउनसमेत सकिन्छ । त्यसलाई प्रापकले स्क्रिन स्विप गरेर पढ्न सक्छन् ।

च्याटमा समयको बचत गराउन ट्याप ब्याक फिचर पनि राखिएको छ । जसमा इमोजीको प्रयोगमार्फत कुराकानीलाई छरितो बनाउन सकिन्छ । इनबिल्ट म्याप्समा पनि व्यापक परिवर्तन गरिएको छ । एप्पलले गुगल म्यापसँग प्रतिस्पर्धा गर्न सन् २०१२ मा पहिलो पटक ल्याएको यो एपमा यस पटक प्रयोगकर्ताले स–साना पसलदेखि ग्यास स्टेसनसम्मको जानकारी पाउन सक्नेछन्।

पुराना फोटोहरूलाई फेसबुकले झैँ पुनः सम्झनामा ल्याउनेछ भने पुराना फोटोहरूलाई मिलाएर स्लाइड शोमार्फत मुभी पनि बनाउन सकिन्छ ।  एप्पलले आफ्नो सिरी भ्वाइस रेकर्डिङ सफ्टवेयरलाई थर्ड पार्टीले पनि प्रयोग गर्न सकिने किसिमले बनाएको छ । जसको कारण आईओएस १० का धेरै एप्सहरूले सिरीलाई सर्पोट गर्नेछ । आईओएस १० ले प्रयोगकर्तालाई नचाहिने एप्सलाई मेट्ने सुविधा पनि दिएको छ ।

आईओएस १० पछिल्ला केही भर्सनका एप्पलका प्रोडक्टहरूमा मात्र कम्पाटिबल छ । आइफोन ५ देखि माथिका संस्करणहरूमा काम गर्नेछ । आइप्याडमा फोर्थ जेनेरेसन, आइप्याड एयर, आइप्याड मिनी २, आइप्याड प्रोको ९ दशमलव ७ इन्चभन्दा माथिका लागि मात्र सर्पोट गर्ने जनाएको छ । यो सफ्टवेयरले आइपोड टचको सिक्थ जेनेरेसनमा मात्र अपग्रेड हुने एप्पलले जनाएको छ ।

आईओएस १० सार्वजनिक हुने बित्तिकै यसका प्रयोगकर्ताहरूले आ–आफ्नो ग्याजेटमा जानकारी प्राप्त गर्नेछन्। एप्पलका प्रयोगकर्ताले वाइफाइ वा इन्टरनेट प्लगइनमार्फत डाउनलोड गर्न सक्नेछन् । तर, अपडेट गर्नुभन्दा अगाडि आफ्नो मोबाइलको ब्याट्री सकभर फुल राखेरमात्र गर्नुहोला।

कुनै पनि महत्वपूर्ण सफ्टवेयर अपडेट गर्नुभन्दा अगाडि आफ्नो डिभाइसमा भएका महत्वपूर्ण सामग्रीहरूको ब्याकअप गर्नुपर्छ। आफूले गरेको ब्याकअपलाई आफ्नो फोनमा वा आइट्युनको प्रयोग गरेर आई क्लाउडमा राख्नुपर्छ । यदि आईओएस १० मा केही समस्या आएमा प्रयोगकर्ताले आफूले सुरक्षित राखेको डाटालाई रिस्टोर गर्न सजिलो हुन्छ । आईओएस १० आफ्नो डिभाइसमा इन्स्टल गर्नुभन्दा अगाडि आफ्नो एप्पल आईडी र लगइनको बारेमा पूर्ण जानकार हुनुपर्छ।

प्रकाशित: १ आश्विन २०७३ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App