३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाईजलाई पराजित गर्दै जाउलाखेल सेमीफाइनलमा

जाउलाखेल यूथ क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । जाउलाखेल अपी पावर चर्च ब्वाईजलाई ३–० ले पराजित गर्दै जाउलाखेल सहारा क्लव पोखराले पोखरा रंगशालामा आयोजना गरेको २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो ।  

पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जाउलाखेल हाबी भयो । दोस्रो हाफमा आक्रामक रणनीति अप्नाएको जाउलाखेलले दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । चर्च ब्वाईजका गोलकिपर दिप कार्कीको गल्तीलाई उपयोग गर्दै जाउलाखेलका धर्बेन्द्र कुँवरले गोल गरेका हुन् । उनले विपक्षी गोलकिपरबाट रिबाउण्ड भएको बललाई सिधै जाली चुमाए ।  

पहिलो गोलबाट उत्साहित बनेको जाउलाखेलले ८८ औं मिनेटमा अग्रता दोब्बर बनायो । जाउलाखेलका लागि विदेशी खेलाडी निकालोस ओडाने ह्यामिल्टनले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । चर्च ब्वाईजले तेस्रो गोल भने अतिरिक्त समयमा बेहोर्यो । जाउलाखेलका सुजन गुरुङले गोल गर्दै आफ्नो टिमलाई फराकिलो जित दिलाए ।  

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा सोमबार मनाङ मर्स्याङ्दी क्लब र थण्डरबोल्ड नर्थ युनाईटेड क्लब सिक्कीम प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।  

प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App