आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको ८६औं खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले अमेरिकालाई २१२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनायो।
यूएईको सुरुवात भने निकै खराब रहेको थियो। सुरुवातमै शीर्ष तीन ब्याट्सम्यान गुमाएको यूएईका लागि मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए। हर्षित कौशिकले टोलीका लागि सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, कप्तान राहुल चोपडाले ३६ रन जोडे भने मुहम्मद शहदादले ३४ रन बनाए। शोएब खानले २७ र मुहम्मद वसीमले २१ रनको योगदान दिए।
अमेरिकाका लागि बलिङतर्फ सौरभ नेत्रावलकरले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा २ मेडनसहित मात्र २८ रन खर्चेर ३ विकेट लिए। रशिल उगरकर र जसदीप सिंहले समान २-२ विकेट लिए भने शुभम रन्जनेको नाममा १ विकेट रह्यो।
प्रकाशित: ११ कार्तिक २०८२ १५:२७ मंगलबार





