३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप लिग- २ः शनिबार नेपाल र अमेरिका भिड्दै

विश्वकप लिग- २ मा शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी शृंखलामा आआफ्नो पहिलो खेलमा गुमाएका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । नेपाल र अमेरिका स्कटल्यान्डसँग डिएल मेथडका आधारमा समान २ रनले पराजित भएका थिए। हारले अमेरिकाको ६ खेल लामो अपराजित यात्रामा पूर्ण बिराम लाग्यो भने नेपालले नवौं जित गुमायो।

शनिबारको खेल अमेरिका र नेपालका लागि जारी शृंखलाको दोस्रो खेल हो। स्कटल्यान्डसँगको हारपछि दोस्रो स्थानमा झरेको अमेरिकाको ३६ अंक छ भने समान २५ खेल खेलेको नेपालको १८ अंक छ।

नेपालले अमेरिकालाई २०२३ जुनमा भएको आईसिसी विश्वकप छनोटमा हराएपछि पराजित गर्न सकेको छैन। सोपछिका चारै खेलमा अमेरिका हावी हुँदै आएको छ। नेपाल र अमेरिकाबीच पछिल्लो भेट गत वर्षको नोभेम्बर एकमा भएको थियो, जसमा अमेरिका ४ विकेटले विजयी भएको थियो।

अमेरिकाका साइतेजा मुक्कामुल्ला, स्मित पटेल, क्याप्टेन मोनान्क पटेलसहितका ब्याट्सम्यान र सौरभ नेत्राभाल्कर, जस्दीप सिंह, हर्मित सिंह जस्ता अनुभवी बलरहरु हावी हुन सक्छन्।

अर्कोतर्फ नेपालका क्याप्टेन रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, बिनोद भण्डारी, गुल्सल झाको ब्याटिङ तथा सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादवको बलिङ धारिलो हुन आवश्यक छ। स्कटल्यान्डसँगको खेलमा आराम दिइएका सोमपाल कामी अमेरिकाविरुद्ध मैदान उत्रिए बलिङ र ब्याटिङमा चमत्कार गर्न सक्नेछन्।

नेपालले जारी शृंखलाका बाँकी तीनमध्ये दुई खेलमा मात्रै जित निकाल्न सके पाँचौ स्थानमा उक्लनेछ। जुन विश्वकपमा छनोट हुने यात्रामा सहज बन्नेछ। 

प्रकाशित: १ जेष्ठ २०८३ २०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App