२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

विश्वकप च्याम्पियन भारतको तीन कीर्तिमान

न्युजिल्यान्डमाथि सानदार जितसँगै भारत आइसिसी टी ट्वान्टी विश्वकप रक्षा गर्ने र तेस्रोपल्ट यस फरम्याटको उपाधि उचाल्ने पहिलो राष्ट्र भएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा भारतले आइतबार न्युजिल्यान्डमाथि ९६ रनको सानदार जित निकाल्दै सर्वाधिक तेस्रोपल्ट टी ट्वान्टी विश्वकपको उपाधि उचाल्यो। ८६ हजार घरेलु दर्शकको साथ पाएको भारतले दुई सय ५६ रनको निकै चुनौतीपूर्ण लक्ष्य दिएको थियो तर न्युजिल्यान्ड १९औं ओभरमा एक सय ५९ रनमा नै अलआउट हुन पुग्यो। यससँगै न्युजिल्यान्डको पहिलोपल्ट विश्वकप उपाधि उचाल्ने सपना पूरा हुन सकेन।

सन् २०२१ को संस्करणमा पनि न्युजिल्यान्ड फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो। भारत भने टी ट्वान्टी विश्वकपको उपाधि रक्षा गर्ने, घरेलु मैदानमा उपाधि जित्ने र सर्वाधिक तेस्रोपल्ट उपाधि उचाल्ने राष्ट्र बन्यो।

भारतले यसअघि सन् २००७ को पहिलो संस्करण र सन् २०२४ को गत संस्करणमा उपाधि उचालेको थियो । वेस्ट इन्डिज र इङ्ल्यान्डले समान दुईपल्ट उपाधि जितेको छ। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह प्लेअर अफ दी फाइनलमा भए। उनले चार विकेट लिए। उत्कृष्ट ब्याटिङ गर्दै लगातार तेस्रो अर्धशतक प्रहार गरेका सन्जु सामसन प्लेअर अफ दी सिरिज भए। उनले तीन सय २१ रन बटुले। न्युजिल्यान्डले विश्वकपकै सर्वाधिक तेस्रो ठूलो लक्ष्य पछ्याएको थियो। टिम सेइफर्टले २६ बलमा ५२ रन जोड्दै चुनौती दिने प्रयास गरे तर अन्य ब्याटर चल्न नसक्दा न्युजिल्यान्ड सफल भएन। नवौं ओभरमा वरुण चक्रवर्तीले सेइफर्टलाई आउट गर्दै ठूलो सफलता दिलाए।

सेइफर्टले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। मध्य क्रमका ब्याटर तथा कप्तान मिचेल सार्टनर ४३ रन र डारिल मिचेलले १७ रन जोडे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतीय बलरले लगातार विकेट लिँदै दबाबमा राखे। बुमराहले चार ओभरमा चार विकेट लिँदा १५ रन मात्र दिए।

अक्षर पटेलले तीन तथा हार्दिक पाड्या र वरुणको नाममा समान एक विकेट रह्यो। यस विश्वकपमा वरुण र बुमराह सर्वाधिक १४ विकेट लिने बलर पनि भए। सर्वाधिक रन बटुल्ने ब्याटर भने पाकिस्तानका साहिबजादा फरहान हुन्। उनले ६ इनिङमा तीन सय ८३ रन बटुले। त्यसअघि फाइनलमा सन्जुको आक्रामक अर्धशतकको मद्दतमा भारतले पाँच विकेट गुमाएर विशाल २५५ रन बनाएको छ।

लगातार तीन अर्धशतक बनाउने क्रममा सन्जुले ४६ बलमा ८९ रन जोडे। उनले आफ्नो अघिल्ला दुई इनिङमा अविजित ९७ रन र ८९ रन बनाएका थिए। फाइनलमा पनि सन्जुले उत्कृष्ट इनिङ दोहोर्‍याए। नरेन्द्र मोदी स्टेडियममा एक लाखभन्दा बढी दर्शक उपस्थित थिए। जहाँ उनले पाँच चौका र आठ छक्का प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाए। पहिलो विकेटका लागि सन्जुले अभिषेक शर्मासँग ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए। अभिषेकले २१ बलमा ५२ रन बनाए। यस साझेदारीले भारतलाई यस विश्वकपमा दोस्रो उच्च स्कोर बनाउने आधार भयो। भारतले सुपर आठमा जिम्बाब्वेविरुद्ध दुई सय ५६ रन बनाएको थियो। पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि अभिषेकले एक ओभरमा धैर्यतापूर्वक खेले।

त्यसपछि भने उनले आक्रामक शैलीमा ब्याटिङ गरे। पछि सन्जुले पनि साथ दिए। दुवैले न्युजिल्यान्डका बलरलाई मैदानका सबैतिर प्रहार गरे। पावरप्लेमा नै भारतले ९२ रन जोड्यो। रचिन रविन्द्रको बायाँहाते स्पिनमा अभिषेक आउट भए। त्यसपछि सन्जुले ईशान किसनसँग १०५ रनको शतकीय साझेदारी गरे। १६औं ओभरमा सन्जु आउट भए। उनलाई जिमी निसामले पभेलियनको बाटो देखाएका हुन्। त्यसअघि सन्जु र ईशानले न्युजिल्यान्डको बलिङ आक्रमणलाई लगातार प्रहार गरेका थिए। सन्जुले रविन्द्रलाई लगातार तीन छक्का पनि प्रहार गरे। जिमीले एकै ओभरमा तीन विकेट लिएर न्युजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे।

उनले सन्जु, ईशान र कप्तान सूर्यकुमार यादवलाई आउट गरेपछि भारतको तीव्र गतिमा रन रोकिएको हो । किशन र सूर्यकुमार लगातार बलमा आउट भएका थिए। सूर्यकुमार भने शून्यमै पभेलियन फर्किए तर शिवम दुबेले आक्रामक फिनिस गर्दैै भारतलाई विशाल योगफलतर्फ अग्रसर गराए। उनले आठ बलमा अविजित २६ रन बनाए। दुबेले २०औं ओभरमा जिमीलाई तीन चौका र दुई छक्का प्रहार गरे। न्युजिल्यान्डले सात बलर प्रयोग गर्‍यो, त्यसमा ग्लेन फिलिप्सबाहेक सबै महँगा भए। जिमीले तीन तथा म्याट हेनरी र रचिनले समान एक विकेट दिलाए। ब्याटिङसँगै बलिङमा पनि साथ पाएपछि भारत सफल भयो।    

प्रकाशित: २५ फाल्गुन २०८२ ०७:०९ सोमबार