इनरुवामा जारी प्रथम कोसीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको मंगलबार फाइनल खेल हुँदैछ। आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी फाइनलमा प्रवेश गरेको हो। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरी फाइनलको यात्रा तय गरेको हो।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १८/१७ अङ्कले हराउँदै नेपाल प्रहरी फाइनलमा प्रवेशको आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए। खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण भएकी थिइन्।
त्यसैगरी, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको थियो। कोसी प्रदेशलाई २५ का विरुद्ध ३३ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको राष्ट्रिय कबड्डीका अन्तर्राष्ट्रिय रेफरी तथा अयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले बताए।
पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी म्याच भएकी कर्णलाई सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले हस्तान्तरण गरेका थिए। प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा समूहलाई रु २५/२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०८३ ०६:५५ मंगलबार





