९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
खेल

२०औं एसियाली खेलकुद: महिला कबड्डीमा कांस्य सुरक्षित

‘यहाँबाट पदक नलिई फर्कंदैनौं। महिला कबड्डीमाथि विश्वास राख्नुस्। घाँटीमा पदक झुन्ड्याएर नै मातृभूमि जान्छौं,’ नेपाली महिला कबड्डीकी कप्तान मानमती विष्टले केही दिनअगाडि भनेकी थिइन्। यसपल्ट जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डीले पदक जित्न सक्छ त भन्ने प्रश्नमा उनको जवाफ थियो त्यो।

त्यही जबाफ सही साबित भयो। त्यो आत्मविश्वास अन्ततः यथार्थ बन्यो। किनकि महिला कबड्डीमा बिहीबार नेपालले कम्तीमा कांस्य पदक सुरक्षित गर्‍यो। कप्तान मानमतीको अठोट पूरा पनि भयो। उनको संकल्प र भरोसा पराजित भएन। जुन पराजय बुधबार नेपाली टोलीले चाइनिज ताइपेईसँग सामना गर्नुपरेको थियो तर त्यो पराजयपछि नेपाली चेली उठे। सेमिफाइनलमा पुग्न र कम्तीमा कांस्य पदक सुरक्षित गर्न जित्नैपर्ने खेलमा पनि नेपाली महिला टोलीले आफूलाई साबित गर्‍यो। नागोयामा नेपालले बिहीबार समूह ‘बी’ को अन्तिम र निर्णायक खेलमा श्रीलंकामाथि ३४–२५ को जित रच्यो। यो जितपछि नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपल्ट एसियाली खेलकुदमा देशलाई पदक दिलायो। जसको अठोट जापानमा केही दिनअगाडि कप्तान मानमतीले लिएकी थिइन्।

तर, यो सफलता सहज थिएन। मिसन २०२६ को नामबाट नेपाली खेलाडीले झन्डै तीन वर्षदेखि कडा मिहिनेत गरेका छन्। त्याग पनि उनीहरूको उस्तै छ। एसियाली खेलकुदमै पदक जितेर पनि उनीहरूले न्यूनतम आवश्यकता माग नगरी यो सफलता दिलाएका हुन्। कबड्डी इन्डोर गेम हो। उसको निश्चित हल छैन। त्यसैले महिला कबड्डी टोलीले इन्डोरमा कहिल्यै तयारी गर्न पाएन। खुला आकाशमुनि उनीहरू तयारी गर्थे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा महिला भलिबलको अभ्यास नहुँदा महिला कबड्डीले मौका छोप्थ्यो। तर, नेपाली महिला कबड्डी टोलीलाई कुनै गुनासो थिएन र छैन पनि।

‘सरकारले सक्दो गरेको थियो। राखेप र अखिल नेपाल कबड्डी संघले पनि धेरै मिहिनेत गरे। हामी कभर्डहल या खुला मैदान जहाँ पनि देशका लागि तयारी गर्न तत्पर छौं। जे पायौं खुसी छौं। त्यसैले कुनै गुनासो नगरी अभ्यास गरेका थियौं,’ कप्तान मानमतीले श्रीलंकामाथि जितपछि भनिन्।

उनी अहिले नै नेपालको यात्रा नसकिएको स्पष्ट पार्छिन्। अभैm ठुलो सफलताका लागि सबै खेलाडी तत्पर रहेको उनी बताउँछिन्। नेपाली टोलीकी प्रशिक्षक पार्वती राईले पनि भारतसँग राम्रो खेल्ने आशा व्यक्त गरेकी छन्।

चार राष्ट्र सम्मिलित समूहमा दुई जितसँगै नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। शतप्रतिशत जितसँगै चाइनिज ताइपेई विजेता बन्यो। नेपालले सेमिफाइनलमा शुक्रबार बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ।  

दोस्रो सेमिफाइनलमा चाइनिज ताइपेई र इरानबिच खेल हुनेछ। लगानी र नतिजा नियाल्दा कबड्डीमा भारत नेपालभन्दा बलियो राष्ट्र हो। तथापि कप्तान मानमती यो मान्न तयार छैनन्। भारतलाई कडा टक्कर दिने उनको लक्ष्य छ। ‘हाम्रो यात्रा पूरा भएकै छैन। अहिले नै यही नतिजा हुन्छ भन्न सक्दैनौं। मैदानमा उत्कृष्ट दिन्छौं र फाइनल पुग्न ज्यान नै लगाउनेछौं,’ गत १९औं एसियाली खेलकुदमा पनि कांस्य विजेता सदस्य मानमतीले भनिन्, ‘भारत बलियो होला। तर, अहिले हार मान्न तयार छैनौं। उनीहरूलाई सहज हुन दिँदैनौं।’

टोकाया सिटिजेन जिम्नाजियममा मानमतीसँगै ६ खेलाडीले लगातार दोस्रोपल्ट एसियाली खेलकुदको पदक घाँटीमा सजाउने पक्का भइसकेको छ। गत संस्करणको कांस्य विजेता सदस्य मानमतीसँगै रबिना चौधरी, सृजना थारु, जयन्ती बडु, गंगा घिमिरे र मेनुकाकुमारी राजवंशी यसपल्ट स्वर्ण जित्ने अठोटमा छन्।

तथापि थाइल्यान्ड र श्रीलंकामाथि गरेको प्रदर्शनले भने नेपालको लक्ष्य पूरा हुन सक्दैन। अफेन्स र डिफेन्स दुवैमा नेपाली टोलीले उत्कृष्ट देखाउन आवश्यक छ। जुन श्रीलंका र थाइल्यान्डविरुद्ध नेपाली टोलीले कमीको महसुस गर्‍यो। रेडर र डिफेन्डर दुवै सुरुदेखि एकसाथ चल्न नसक्दा नेपाली महिला टोलीले संघर्ष गर्नुपरेको थियो।

श्रीलंकासँग सुरुदेखि नेपाली टोली पछि रह्यो। सुरुको केही समय नेपाली समर्थक निराश रहे। पहिलो हाफको आठौं मिनेटमा नेपालले अन्ततः अग्रता लियो। ९–८ को स्थितिमा नेपालले अग्रता बनाएको हो तर लगत्तै रेडमा असफल भएपछि पछाडि पर्‍यो। दुवै टोलीले प्रतिस्पर्धात्मक खेल देखाए। तथापि नेपाली रेडरले राम्रो खेल देखाउन सकेनन्।

उत्कृष्ट डिफेन्सका कारण नेपाली टोलीले चुनौती बनाइरह्यो। विपक्षीलाई अलआउट गर्दै नेपाल दबाब बनाउन खोजिरहेको थियो। कप्तान मानमतीको उत्कृष्ट रेडपछि अन्ततः श्रीलंका अलआउट हुन पुग्यो। यसको फाइदा लिँदै नेपाल अगाडि बढ्यो।

अग्रता लिएपछि नेपालले धैर्यता गुमाएन। पहिलो हाफमा यही लय जारी राख्दा १९–१३ ले अगाडि रह्यो। जहाँ नेपालले एक र श्रीलंकाले दुईपल्ट सुपर ट्याकल पोइन्ट पाए। दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक रह्यो। तथापि नेपालले अग्रता गुमाएन। श्रीलंकालाई १५–१२ ले पछि राख्दै नेपाली टोलीले जित रच्यो। जुन जित भारतविरुद्ध नेपाल शुक्रबार पनि दोहोर्‍याउन चाहन्छ। 

प्रकाशित: ९ आश्विन २०८३ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App