२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

हर्षल पाठक: नेपालको ‘विश्वकप सपना’ का नयाँ सारथी

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक हर्षल पाठकलाई महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

महिला टोलीले विदेशी प्रशिक्षक पाएको यो इतिहासमै पहिलो पटक हो। पाठकको नियुक्तिलाई केवल एक प्रशिक्षकको आगमन मात्र नभएर आगामी महिना घरेलु मैदानमै आयोजना हुने आइसिसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा नेपालको बलियो दाबेदारी प्रस्तुत गर्ने रणनीतिको रूपमा समेत हेरिएको छ।

नेपाली महिला क्रिकेट टोली अहिले आफ्नो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिताको तयारीमा जुटेको छ। अर्को महिना नेपालमै आयोजना हुने टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आयोजक नेपालसहित विश्वका विभिन्न १० राष्ट्रले सहभागिता जनाउँदै छन्।

प्रतियोगिता नेपाली महिला टोलीका लागि पहिलो पटक टी–२० विश्वकपको ढोका खोल्ने सुनौलो अवसर हुनेछ। यही महत्त्वलाई बुझ्दै नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीको प्राविधिक पक्षलाई सुधार्न र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रदान गर्न पहिलो पटक विदेशी प्रशिक्षक भित्र्याएको हो।

क्यानले प्रतियोगिताको खेल तालिका र समूह विभाजन सार्वजनिक गरिसकेको छ भने बन्द प्रशिक्षणका लागि २० जना खेलाडीलाई क्याम्पमा बोलाएर तीव्र तयारी थालेको छ।

खेलाडीहरूको मनोबल उच्च राख्दै नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यसहित क्यानले गत पुस १ गते हर्षल पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

को हुन् हर्षल पाठक ?

भारतको महाराष्ट्रस्थित पुणे घर भएका हर्षल जयन्त पाठक भारतीय क्रिकेट वृत्तमा स्थापित नाम हुन्।

उनी कुनै ‘स्टार’ खेलाडीका रूपमा चर्चित नभए पनि प्रशिक्षकका रूपमा भने उनको अनुभव र सफलताको ग्राफ लोभलाग्दो छ। क्यानसँग दुई वर्षको सम्झौता गरेर गत पुस ६ गते काठमाडौं अवतरण गरेका पाठकसँग क्रिकेट प्रशिक्षणको २१ वर्ष लामो अनुभव छ।

पाठकले आफ्नो कोचिङ करियर पुणेको क्याडेन्स क्रिकेट एकेडेमीबाट सुरु गरेका थिए। त्यहाँ उनले उमेर समूहका खेलाडीहरूलाई निखार्दै आफूलाई व्यावसायिक प्रशिक्षकको रूपमा उभ्याए।

उनको क्षमताको कदर गर्दै उनलाई भारतीय घरेलु क्रिकेटको प्रतिष्ठित प्रतियोगिता रणजी ट्रफीका लागि महाराष्ट्र पुरुष टोलीको सहायक तथा ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। उनकै कार्यकालमा महाराष्ट्रको टोली रणजी ट्रफीको फाइनलसम्म पुग्न सफल भएको थियो।

त्यति मात्र होइन, पाठकले भारतीय राष्ट्रिय महिला टोलीकी सदस्य हरमनप्रीत कौरको व्यक्तिगत ब्याटिङ प्रशिक्षकको रूपमा समेत काम गरिसकेका छन्। उनको प्राविधिक ज्ञान र खेलाडीको क्षमता पहिचान गर्ने खुबीले नै उनलाई अन्तर्राष्ट्रिय बजारमा माग हुने प्रशिक्षक बनाएको हो।

प्रशिक्षक पाठकको बायोडाटामा सबैभन्दा चम्किलो पक्ष भनेको थाइल्याण्डको महिला क्रिकेट टोलीलाई विश्वकपसम्म पुर्‍याउनु हो।

सन् २०१८ मा थाइल्याण्डको महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका पाठकले दुई वर्षभित्रै टोलीको कायापलट गरिदिए। उनको प्रशिक्षणमा थाइल्याण्डले सन् २०२० मा पहिलो पटक टी–२० महिला विश्वकपमा छनोट भएर इतिहास रचेको थियो।

करिब ७ वर्ष थाइल्याण्डको क्रिकेटमा बिताएका पाठककै नेतृत्वमा थाइल्याण्ड सन् २०२२ को महिला एसिया कपको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो।

उनले त्यहाँ रहँदा महिला टोली मात्र नभई पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका थिए।

थाइल्याण्ड जस्तो क्रिकेटको कम उर्वर भूमिमा उनले देखाएको यो जादुयी नतिजालाई नै आधार मानेर क्यानले उनलाई नेपाल भित्र्याएको हो।

हाल नवनियुक्त प्रशिक्षक पाठकका अगाडि समयको ठूलो पाबन्दी छ। विश्वकप छनोट प्रतियोगिता सुरु हुन अब एक महिनाभन्दा कम समय बाँकी छ। यस्तो अवस्थामा टोलीको कमान्ड सम्हाल्नु उनका लागि निकै चुनौतीपूर्ण कार्य हो। तर, उनले यसलाई अवसरका रूपमा लिएका छन्।

काठमाडौं आएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले भने, ‘नेपाली महिला क्रिकेट टोलीमा जोडिन पाउँदा निकै खुसी छु। मलाई यो अवसर र विश्वास गरेकोमा नेपाल क्रिकेट सङ्घलाई धेरै धन्यवाद दिन चाहन्छु।’

उनले नेपाली टोलीको सबैभन्दा बलियो पक्ष खेलाडीहरूको ‘प्यासन’ रहेको बताए। ‘म थाइल्याण्डको टोलीमा रहँदादेखि नै नेपाली टोलीको खेल हेर्दै आएको छु। मलाई यो टोलीको सबल र दुर्बल पक्षबारे राम्रो जानकारी छ,’ पाठकले भने।

नेपालको ब्याटिङमा देखिएको परम्परागत कमजोरीलाई सुधार गर्नु उनको पहिलो प्राथमिकता हो। ‘हामीसँग तयारीका लागि समय छोटो छ, एक/दुई दिनमै ब्याटिङमा आमूल परिवर्तन त आउँदैन, तर हामीले ब्याटिङ सुधारमा विशेष ध्यान दिनेछौं,’ उनले भने।

सन् २०२० मा थाइल्याण्डलाई जसरी ‘वर्कआउट’ गराएर विश्वकपमा पुर्‍याएका थिए, नेपालमा पनि सोही अनुभव र सूत्र लागू गर्ने उनको योजना छ।

विश्वकप छनोट प्रतियोगिताको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमै थाइल्याण्डको सामना गर्दैछ। यो एउटा रोमाञ्चक संयोग पनि हो। ७ वर्षसम्म जुन टोलीलाई प्रशिक्षण दिएर हुर्काए, अब पाठकले त्यही टोलीविरुद्ध नेपालको रणनीति बनाउनुपर्नेछ।

विपक्षी टोलीका हरेक खेलाडीको कमजोरी र खुबी नजिकबाट बुझेका कारण पाठकको उपस्थिति नेपालका लागि ‘ट्रम्प कार्ड’ साबित हुन सक्छ। ‘हामीसँग खेल्ने सबै टोली राम्रा छन्, कसैलाई पनि कमजोर मान्न मिल्दैन। तर हाम्रो लक्ष्य भनेको छनोट मात्र होइन, टुर्नामेन्ट जित्नु नै हो,’ पाठकले भने।

घरेलु मैदानको फाइदा, दर्शकको समर्थन र पहिलो पटक पाएको अनुभवी विदेशी प्रशिक्षकको साथ। यी तीनवटै पक्षको संयोजनले नेपाली महिला क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपको मञ्चमा उभ्याउने अपेक्षा गरिएको छ।

नेपाली महिला क्रिकेटले वर्षौंदेखि देखेको विश्वकपको सपना पूरा गर्न प्रशिक्षक पाठकको ‘मिडास टच’ कति प्रभावकारी हुन्छ, त्यो भने अर्को महिनाको प्रदर्शनले नै पुष्टि गर्नेछ। तर, अहिलेका लागि भने पाठकको आगमनले नेपाली महिला क्रिकेटमा नयाँ ऊर्जा र आशाको सञ्चार भने गराएको छ।

प्रकाशित: ८ पुस २०८२ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App