पोखरामा शनिबार आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ। पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन्।
शनिबार दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त दुबैका लागि ऐतिहासिक हुनेछ। दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको जाउलाखेल उपाधिविहीन छ। त्यसैले उ उपाधि जितेर ईतिहास कोर्न चाहन्छ भने आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहोर्याउने छ। २०७० सालमा उपाधि जितेको सहारा १२ वर्षपछि उपाधि चुमेर ईतिहास दोहोर्याउन चाहन्छ। यद्दपी नौवर्षअघि २०७३ सालमा उपाधि भिडन्तमा चुकेको सहारा यस पटक जित्न लालायीत छ।
जावलाखेल प्री–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमीफाइनलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पन्छाउँदै फाइनलमा प्रवेश गरेको हो। आयोजक सहाराले प्री–क्वाटरफाइनलमा ईन्टरनेसनल फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई सडन डेथमा ६–५ र सेमीफाइनलमा मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथमै ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
यस प्रतियोगितामा भएको खेलमा हेड टु हेड हेर्ने हो भने जावलाखेल बलियो देखिन्छ। प्रतियोगितामा ३ खेल खेलेको जावलाखेलले तीनवटै खेलमा निर्धारित समयमै स्पष्ट जित निकालेको छ। त्यतिमात्र होईन प्रतियोगितामा कुनैपनि गोल नबेहोरेको जावलाखेलले एकतर्फी ६ गोल हानेको छ। तर अर्कोतर्फ आयोजक सहाराले दुई खेल सडन डेथमा आफ्नो पक्षमा पारेको छ भने एउटा खेलमा निर्धारित समयमै नतिजा आफ्नो पक्षमा पारे पनि कठीन जित निकालेको देखिन्छ।
उपाधि भिडन्तमा पुगेका दुबै टिमको एउटा समानता छ, त्यो हो आक्रामक रणनीति। दुबै टिमले उपाधि भिडन्तमा पनि यहि रणनीति अपनाउने बताएका छन्। शनिबार हुने फाइनल भिडन्त अघि शुक्रबार पोखरामा आयोजना गरिएको प्री–म्याच कन्फेरेन्समा बोल्दै जावलाखेलका प्रशिक्षक सुनीलकुमार श्रेष्ठ स्पष्ट जित निकाल्नेगरी मैदानमा उत्रिने बताउँछन्।
‘जतिसक्दो चाँडो गोल निकाल्ने गरी हामी मैदानमा उत्रिन्छौं,’ उनले भने, ‘हाम्रो रणनीति पहिले पनि आक्रामक थियो र फाइनलमा पनि यसले निरन्तरता पाउँछ।’
यसो भनिरहँदा जावलाखेलका सेट टिमका युवराज ढकाल टिममा रहने छैनन्। सेमीफाइनलमा आभा एफसीसँगको खेलमा विपक्षी खेलाडीलाई हातपात गरेपछि रातो कार्ड पाएकाले उनले फाइनल खेल गुमाउनेछन्। तर त्यसले फरक नपर्नै श्रेष्ठको दाबी छ। उनले भने, ‘बेञ्चका खेलाडी पनि एक से एक छन्, युवराज नहुँदैमा हाम्रो रणनीति पनि बदलिदैन र खेलमा खास फरक पनि नपार्ला।’ उनले विदेशी टिमलाई पराजित गरेर आएकाले खेलाडीमा उच्च मनोवल रहेको बताए। ‘हामी यस पटक उपाधि चुम्नेगरी मैदानमा उत्रिनेछौ।’
जावलाखेलका कप्तान युनेस चौधरीले उपाधिको खडेरी तोड्न आफूहरु उच्च मनोवलका साथ मैदानमा उत्रिने बताए। विदेशी टिमलाई जितेपछि हामी सबैको उच्च मनोवल छ,उनले भने,‘यसलाई कायम राखेर हामी उपाधिको खडेरी तोड्न चाहन्छौं र यो पटक त्यो सम्भव पनि देखिरहेको छु।’
चौथो पटक फाइनल खेल्न लागेको सहाराको भने सेटटिम छ। २०६९ मा फाइनल खेलेर उप–बिजेतामै चित्त बुझाएको सहाराले २०७० मा उपाधि चुमेको थियो। त्यसपछि २०७३ मा फाइनल खेलेर उप–बिजेता बनेको सहारा ९ वर्षपछि फेरी फाइनलमा पुगेकाले उपाधि चुम्ने योजनामा छ। विदेशी खेलाडीले रक्षापंक्ति सम्हाल्दा बलियो देखिएको सहारा सँधै आक्रमक रणनीतिमा देखिन्छ।
तर स्कोरमा भने सँधै चुक्दै आएको छ। शुरुमै गोल गरेर अग्रता बनाउने योजनामा आफूहरु रहेको सहाराका प्रशिक्षक सुनील राना बताए। उनले भने, ‘घरेलु मैदानमा दर्शकको सपोर्ट पनि रहन्छ। त्यसैले हामी उपाधि उचालेर इतिहास दोहोर्याउन चाहन्छौं।
सहाराका कप्तान सुशील लामाले उपाधि जितेर पोखरेलीलाई उपहार दिन आफूहरु तयार रहेको बताए। घरेलु मैदान छ अनि दर्शको साथ पनि,’ उनले भने, ‘त्यसैले हामी हन्ड्रपर्सेन्ट दिएर उपाधि पोखरेलीलाई उपहार दिन चाहन्छौं।’ २५ औं संस्करणको बिजेताले १४ लाख १ हजार र उप–बिजेताले ७ लाख १ हजार प्राप्त गर्नेछ।
प्रकाशित: ८ फाल्गुन २०८२ १७:५५ शुक्रबार





