२०२६ फिफा पुरुष विश्वकप सेमिफाइनल चरणमा प्रवेश गरेसँगै विभिन्न एआई मोडेलहरूले प्रतियोगिताको सम्भावित विजेताबारे आफ्ना विश्लेषण सार्वजनिक गरेका छन्।
टोलीको वर्तमान प्रदर्शन, स्क्वाडको गहिराइ, प्रशिक्षकको रणनीति, ऐतिहासिक उपलब्धि र प्रतियोगितामा देखिएको लयका आधारमा गरिएको विश्लेषणमा फ्रान्स र अर्जेन्टिना सबैभन्दा बलिया दाबेदारका रूपमा देखिएका छन्।
स्पोर्ट्स विश्लेषण प्लेटफर्म एजेल्याब्स्ले नौ प्रमुख एआई मोडेलहरूलाई एउटै प्रश्न सोधेको थियो—‘२०२६ फिफा विश्वकप कसले जित्ला?’। त्यसमा जेमिनी, ग्रोक, डिपसिक, ले च्याट र क्वेनसहित पाँच एआई मोडेलले फ्रान्सलाई विश्व च्याम्पियन बन्ने अनुमान गरेका छन्।
यता च्याटजिपिटी, क्लाउड, कोपाइलट र मेटा एआईले भने डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई उपाधि जित्ने टोलीका रूपमा छनोट गरेका छन्।
उपविजेताको अनुमानमा भने मत विभाजित देखिएको छ। फ्रान्स र अर्जेन्टिनाले समान तीन–तीन मत प्राप्त गरेका छन् भने इंग्ल्याण्डले दुई र स्पेनले एक मत पाएको छ।
तेस्रो स्थानका लागि भने स्पेन सबैभन्दा अगाडि देखिएको छ। नौमध्ये छ एआई मोडेलले स्पेनलाई तेस्रो हुने अनुमान गरेका छन् भने इंग्ल्याण्डले दुई र फ्रान्सले एक मत प्राप्त गरेको छ।
विश्लेषकहरूका अनुसार यी भविष्यवाणीले विश्वकपको अन्तिम चार टोली—फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्डबीचको प्रतिस्पर्धा अत्यन्तै कडा हुने संकेत गरेका छन्। यद्यपि प्रत्येक एआई मोडेलले प्रयोग गरेको विश्लेषण विधि र तौल फरक भएकाले अन्तिम नतिजाको अनुमानमा केही भिन्नता देखिएको हो।
विश्वकपको सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डको सामना गर्ने तालिका रहेको छ। दुवै खेलका विजेताबीच जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल खेल हुनेछ।
एआई मोडेलहरूको अनुमान
च्याम्पियन
फ्रान्स – ५ मोडेल
अर्जेन्टिना – ४ मोडेल
उपविजेता
फ्रान्स – ३ मोडेल
अर्जेन्टिना – ३ मोडेल
इंग्ल्याण्ड – २ मोडेल
स्पेन – १ मोडेल
तेस्रो स्थान
स्पेन – ६ मोडेल
इंग्ल्याण्ड – २ मोडेल
फ्रान्स – १ मोडेल
एआईले उपलब्ध तथ्यांकका आधारमा सम्भावित नतिजाको अनुमान गर्ने भए पनि फुटबलमा वास्तविक नतिजा मैदानभित्रको प्रदर्शनले नै तय गर्ने भएकाले यी भविष्यवाणीलाई अन्तिम सत्यका रूपमा लिन नमिल्ने विश्लेषकहरूको भनाइ छ।
प्रकाशित: ३० असार २०८३ १४:११ मंगलबार





