वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको शारजहामा पहिला ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको हो । आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई आराम दिँदै ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले ३९ रन जोडे ।
क्याप्टेन रोहित पौडेल १७, सन्दीप जोरा १४, कुशल मल्ल १२, गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलाम ३, सोमपाल कामी ४ र करण केसी शुन्य रनमा आउट भए । लोकेश बमले ९ रन जोडे ।
क्यारेबियन टोलीका लागि रमोन सिमोन्ड्सले ४ तथा अकिल हुसेन, जासन होल्डर र जेडिह ब्लाड्सले समान एक विकेट लिए । दुई जना रन आउट भए ।
३ खेलको शृंखला नेपालले यसअघि नै जितेको छ । आजको खेलमा समेत जित निकाल्न सके नेपालले टेस्ट राष्ट्रविरुद्धको पहिलो शृंखला नै क्लिनस्विप गर्नेछ ।
प्रकाशित: १४ आश्विन २०८२ २२:०२ मंगलबार





