फिफा विश्वकपमा खेलाडीहरूको प्रदर्शनसँगै भिडियो सहायक रेफ्री (भिएआर) र नयाँ प्रविधिसँग सम्बन्धित निर्णयहरू पनि लगातार चर्चाको केन्द्रमा छन्। क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र अर्जेन्टिनाबिचको खेलपछि फेरि एकपटक रेफ्रीको निर्णयमाथि प्रश्न उठ्यो।
यसअघि जर्मनी, क्रोएसिया, इजिप्ट र नर्वे पनि यस्तै विवादास्पद निर्णयका कारण उत्तरी अमेरिकामा जारी विश्वकपबाट बाहिरिनुपरेको समर्थकको आरोप छ। अर्जेन्टिनासँग क्वार्टरफाइनलमा स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलोले दोस्रो पहेंलो कार्ड पाएपछि नयाँ नियम ‘मिस्टेकन आइडेन्टिटी’ (गलत खेलाडी पहिचान) सम्बन्धी नियममाथि व्यापक बहस सुरु भएको हो। अर्जेन्टिनाका लिएन्ड्रो परेडेससँगको चुनौतीपछि एम्बोलोले फाउलको अभिनय गरेको रेफ्री जोआओ पिन्हेइरोले तत्काल देख्न सकेनन्। रेफ्रीले सुरुमा परेडेसलाई पहेंलो कार्ड देखाए। यो निर्णयमा भारले हस्तक्षेप गर्ने अधिकार पायो। पछि रेफ्रीले एम्बोलोले फाउलको नाटक गरेको निष्कर्षसहित उनलाई दोस्रो पहेंलो कार्ड देखाए। त्यससँगै उनी रातो कार्डसहित मैदानबाट बाहिरिए।
फिफाको नियमअनुसार कुनै घटनामा गलत टोली वा गलत खेलाडीलाई पहेंलो वा रातो कार्ड देखाइएमा भारले रेफ्रीलाई निर्णय पुनरवलोकन गर्न सुझाव दिन सक्छ। यही प्रावधान प्रयोग गर्दै रेफ्रीले आफ्नो प्रारम्भिक निर्णय सच्याए। यो निर्णय खेलको सबैभन्दा निर्णायक मोड बन्यो। स्विट्जरल्यान्डले पाँच मिनेटअघि मात्रै खेल १–१ को बराबरीमा ल्याएको थियो। तर एम्बोलो बाहिरिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै ३–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुराट याकिनले रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। ‘रेफ्रीले गलत निर्णय गरे र फिफाले पनि रेफ्रीको पक्ष लिन्छ। तर यो नियमले हाम्रो खेल नै समाप्त गरिदियो। यस्तो तरिकाले विश्वकपबाट बाहिरिनु निकै पीडादायी छ,’ उनले भने।
विश्वकपको अन्तिम ३२ मा जर्मनी पनि विवादास्पद निर्णयको सिकार बन्यो। पाराग्वेसँग अतिरिक्त समयमा डिफेन्डर जोनाथन ताहले गरेको गोल भिएआर पुनरावलोकनपछि रद्द गरिएको थियो। जर्मनीका वाल्डेमार एन्टोनले गोलकिपर ओरलान्डो गिललाई धक्का दिएपछि ताहले गोल गरेको रिप्लेमा देखिन्छ। फिफाले हालै कडा बनाएको निर्देशिकाअनुसार आक्रमण गर्ने खेलाडीले बल खेल्ने प्रयास नगरी विपक्षी खेलाडी, विशेषगरी गोलकिपरलाई अवरोध पुर्याएमा त्यसलाई फाउल मानिन्छ। निर्णयपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। निर्णायक पेनाल्टीमा ताहको प्रहार पोस्ट माथिबाट गएपछि जर्मनी बाहिरियो। यस हारको प्रभाव जर्मन फुटबलमा पनि देखियो। मुख्य प्रशिक्षक जुलियन नागेल्समानले पदबाट राजीनामा दिए भने उनको स्थानमा योर्गन क्लोप आउने अपेक्षा गरिएको छ।
प्रविधियुक्त बलले तोड्यो क्रोएसियाको सपना
क्रोएसियाका लागि भने कनेक्टेड बल टेक्नोलोजी विश्वकपको सबैभन्दा तीतो क्षणका रूपमा लिइएको छ। पोर्चुगलविरुद्ध अन्तिम ३२ को खेलमा जोस्को गभार्डिओलले इन्जुरी समयमा बराबरी गोल गरेका थिए। तर भिएआरले पुनरवलोकनमा गोलअघि क्रोएसियाका इगोर मान्तानोभिचसँग स्पर्श भएको बलभित्र जडित सेन्सरले देखायो।
त्यसका आधारमा अफसाइड ठहर गर्दै गोल रद्द गरियो। भिडियो रिप्लेले समेत सजिलै छुट्याउन नसक्ने उक्त स्पर्शलाई बलभित्रको सेन्सरले प्रतिसेकेन्ड ५०० पटक तथ्यांक संकलन गरेर पहिचान गरेको फिफाको भनाइ छ। यो प्रविधिले बलमा हुने अत्यन्तै सानो सम्पर्कसमेत मापन गर्न सक्छ, जसले रेफ्रीलाई अझ छिटो र सही निर्णय लिन सहयोग पुर्याउने फिफाले उल्लेख गरेको छ। तर क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिच भने यससँग सहमत देखिएनन्। ‘यस्ता निर्णयहरूले फुटबलको रमाइलोपन नै हराउँदै लागेको छ,’ उनले भने। अन्तिम १६ को खेलमा साबिक विजेता अर्जेन्टिनाविरुद्ध इजिप्टले २–० को अग्रता बनाएको थियो।
विश्वकप इतिहासकै ठूलो उलटपुलट हुने संकेत देखिएको त्यस खेलमा भिएआरको निर्णयले खेलको दिशा नै बदलिदियो। दोस्रो हाफमा १–० को अवस्थामा मोस्तफा जिकोले उत्कृष्ट गोल गरे पनि त्यसअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै भिएआरले गोल रद्द गरिदियो। पछि अर्जेन्टिनाले सानदार पुनरागमन गर्दै ३–२ को जित निकाल्यो। इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि अन्याय भएको आरोप लगाए। इजिप्ट फुटबल संघले पनि खेल सञ्चालनमा दोहोरो मापदण्ड अपनाइएको भन्दै फिफामा औपचारिक उजुरी दर्ता गराइसकेको छ। मार्टिनेजमाथि भनिएको फाउल र त्यसपछि भएको गोलबिच लामो समय अन्तराल रहेकाले त्यसलाई पुनरवलोकन गर्नु उचित नभएको उनीहरूको तर्क छ। तर फिफाका प्रमुख रेफ्री अधिकृत पियरलुइजी कोलिनाले गोलअघि भएको घटनाको दूरी वा समयसीमाबारे कुनै निश्चित मापदण्ड नरहेको स्पष्ट पारे। ‘फिफा विश्वकपका रेफ्रीहरूको निष्पक्षतामाथि कसैले पनि प्रश्न उठाउन सक्दैन,’ उनले भने।
नर्वेमाथि दोहोरो चोट
इङ्ल्यान्डसँगको क्वार्टरफाइनलमा नर्वे पनि दुईवटा विवादास्पद निर्णयबाट प्रभावित भयो। जुड बेलिङ्घमको बराबरी गोल हुनुअघि बलले मैदानमाथि स्पाइडरक्यामको तार छोएको नर्वेको दाबी थियो। त्यसो भएमा तत्काल खेल रोक्नुपर्ने नियम छ। तर फिफाले बलभित्र रहेको सेन्सरको तथ्यांकले हावामा रहँदा कुनै असामान्य संकेत नदेखाएको र तारसँग सम्पर्क भएको कुनै प्रमाण नभेटिएको दाबी गर्यो।
१–१ को अवस्थामा नर्वेको अर्को गोल पनि भिएआरमार्पmत रद्द भयो। कर्नर प्रहारअघि नै एर्लिङ हालान्डले इङ्ल्यान्डका इलियट एन्डरसनमाथि फल गरेको निष्कर्ष निकाल्दै भिएआरले हस्तक्षेप गरेको थियो। फिफाले कर्नरका क्रममा आक्रमण गर्ने टोलीबाट हुने धकेलाधकेल, अवरोध कम गर्न नयाँ नियम लागू गरेपछि र बल खेलमा आउनुअघि भएका यस्ता घटनामा समेत भिएआरले हस्तक्षेप गर्न पाउने व्यवस्था छ। विश्वकपभर लागू यी नयाँ नियम र अत्याधुनिक प्रविधिले निर्णयको शुद्धता बढाएको फिफाको दाबी छ। सहभागी राष्ट्रहरू भने त्यसले खेलको स्वाभाविक प्रवाह र रोमाञ्चकता घटाएको भन्दै लगातार असन्तुष्टि जनाइरहेका छन्।
प्रकाशित: ३० असार २०८३ ०८:३१ मंगलबार





