नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो हारपछि कर्णाली याक्सका पवन सर्राफले पावरप्लेमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोरेको बताएका छन्।
पोखरा एभन्जर्ससँग हारपछि कर्णालीका अलराउन्डर पवनले विशाल लक्ष्य भए पनि भेट्टाउने खालको पिच रहेको सुनाए। तर पहिलो विकेट छिटै पतन हुनु र पावरप्लेमा राम्रो गर्न नसक्दा हार बेहोरेको उनी बताउँछन्।
आफूसहित अन्य बलरले पनि राम्रो गर्न नसकेको पवनले स्विकार गरे। पवनले क्याच छाड्दा झन् खेलमा कठिन भएको बताए। पहिलो विकेट छिटै गुमेपछि विशाल लक्ष्य पछ्याउन कठिन भएको उनको भनाइ छ।
काठमान्डु गोर्खाजसँगको हार नै आफ्नो टोलीका लागि खराब क्षण रहेको उनी बताउँछन्। जित्नुपर्ने खेलबाट मुमेन्टम बिग्रिएको उनको भनाइ छ।
तर आगामी दुई खेल जित्दै प्लेअफ होडमा फर्कने पवनको विश्वास छ। पनवले सात विकेट पतनपछि भने टिक्ने र म्याचलाई नजिकसम्म पुर्याउन लक्ष्यसहित आफू र कप्तान सोमपाल कामीको लक्ष्य रहेको बताए।
पोखराका लागि शतक प्रहार गरेका युवराज सामराले आगामी खेलमा पनि आजै जस्तै खेल्ने हो भने प्लेअफमा पुग्ने आशा व्यक्त गरेका छन्।
अबको दुई खेल जित्दा प्लेअफमा पुग्ने पोखराको अंकगणीतिय सम्भावना बाँकी छ। उनले आजको खेलमा पोखराले राम्रो गरेको यही खेल आगामी दिनमा पनि आवश्यक रहेको बताए।
प्रकाशित: २३ कार्तिक २०८३ १७:२६ सोमबार





