घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा सम्राटले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलमा पराजित गर्दै फाइनलमा पुगेको हो। उपाधि जितका लागि सम्राटले शनिबार झापा ११ सँग खेल्ने छ।
पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको सम्राट फाइनल पुग्न सफल भएको हो। सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे। खेलको प्यलेर अफ द म्याच सम्राटका सौरभ तामाङले ११ हजार रुपैयाँ पुरस्कार पाए।
खेलको ५० औं मिनेटमा सौरभ तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो। इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल थपेसँगै विजयी भयो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। घरेलु दर्शकको भरपुर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसरहरू चुकाउँदा जित निकाल्न अन्तिम समयको इन्जुरी समयसम्म पर्खनु पर्यो।
दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन।
यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको झारखण्ड बिर्सा मुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो। अर्काेतर्फ झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: ४ वैशाख २०८३ ०८:४१ शुक्रबार





