२० असार २०८३ शनिबार
image/svg+xml
खेल

भिएआरको निर्णयले रोनाल्डो अघि बढे, मोड्रिच बाहिरिए

पोर्चुगलले रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले हराउँदै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो। खेलको अन्तिम समयमा भएको एउटा निर्णय नै खेलको सबैभन्दा ठूलो चर्चा बन्यो।

अतिरिक्त समयको अन्तिम मिनेटमा क्रोएसियाका जोस्को ग्भार्डियोलले गोल गर्दै खेल २–२ बराबरी भएको जस्तो देखिएको थियो। खेलाडी र समर्थकहरूले उत्सव पनि मनाइसकेका थिए। तर भिडियो सहायक रेफ्री (भिएआर) ले त्यसलाई गोल दिएन।

सामान्यतया क्रिकेटमा प्रयोग हुने स्निकोमिटर शैलीको प्रविधिले गोललाई खारेज गर्यो र क्रोएसियाको उत्सव निराशामा बदलियो।

प्रविधिले क्रोएसियाका इगोर माटानोभिकले बल छोएको देखायो। त्यसबेला उनी अफसाइडमा भएकाले गोल रद्द गरियो। यससँगै क्रोएसियाको विश्वकप यात्रा समाप्त भयो।

स्निको प्रविधि बलभित्र राखिएको सेन्सरमार्फत खेलाडीले बल छोएको क्षण पत्ता लगाउने प्रणाली हो। यही प्रविधिको आधारमा रेफ्रीले गोल अस्वीकार गरेका थिए।

यो निर्णयपछि क्रोएसियाका खेलाडी र समर्थक निकै निराश बने। केही समर्थकले मैदानतर्फ प्लास्टिकका बोतलसमेत फ्याँके।

घटनाको केही समयपछि फिफाले निर्णयको व्याख्या गर्दै एक विज्ञप्ति जारी गर्‍यो। जसमा भनिएको थियो कि प्रविधिले माटानोभिकले बल छोएको प्रमाणित गर्छ।

प्रशिक्षक ज्लाट्को डालिचले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए। तर हारको मुख्य कारण त्यही मात्र नभएको पनि स्वीकार गरे।

‘म यसको बारेमा धेरै टिप्पणी गर्दिन तर म भन्छु कि रेफ्री धेरै खराब थियो’, उनले भने,‘ हाम्रो तर्फबाट कुनै फाउल, सेट–पिस भएन जुन हुनुपर्थ्यो तर हारको बारेमा कुरा गर्ने त्यो कुनै कारण होइन। यो धेरै खराब रेफ्री थियो।’

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने निर्णय सही भएको बताए। उनका अनुसार बलमा रहेको सेन्सरले स्पष्ट रूपमा स्पर्श भएको पुष्टि गरेको थियो।

खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा आफ्नो पहिलो गोल गरे।

दोस्रो हाफमा उनी प्रतिस्थापन गरिए पनि अन्तिम समयमा गोन्कालो रामोसले गरेको विजयी गोलपछि उनी खुसी मनाउन मैदानमा दौडिएका थिए।

खेल सकिएपछि उनका पूर्व रियल म्याड्रिडका साथी रोनाल्डोले अँगालो हालेर सान्त्वना दिएका थिए। उनीहरुबीच लामो आत्मीय संवाद भएको थियो।

यो खेल क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि सम्भवतः अन्तिम विश्वकप खेल बन्यो। ४० वर्षीय मोड्रिचले दुई दशकभन्दा बढी समय क्रोएसियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए।

हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए। जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए।

नाटकीय अन्त्य, विवादास्पद भिएआर निर्णय र दुई महान खेलाडीको भावनात्मक क्षणका कारण यो खेल विश्वकपकै सबैभन्दा सम्झनलायक खेलमध्ये एक बनेको छ।

प्रकाशित: १९ असार २०८३ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App