आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिका (युएसए) ले संयुक्त अरब इमिरेट्स (युएई) लाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
२९३ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली युएई, अमेरिकी बलरहरुसामु निरीह बन्यो। २२.१ ओभरमा मात्र ४९ रन बनाएर अलआउट भयो।
युएईको ब्याटिङ सुरुदेखि नै धराशायी रह्यो। अमेरिकी बलर रुशिल उगारकर र सौरभ नेत्रवलकरको घातक बलिङसामु युएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।
युएईले मात्र १६ रन जोड्दा आफ्ना ७ विकेट गुमाइसकेको थियो। उसका लागि जुनैद सिद्दिकीले बनाएको १० रन नै सर्वाधिक रह्यो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अमेरिकाका लागि रुशिल उगारकरले ८.१ ओभरमा २२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। उनको धारिलो बलिङसामु युएईका मध्यक्रमका ब्याट्सम्यान निरुत्तर बने।
त्यस्तै, अर्का बलर सौरभ नेत्रवलकरले झनै किफायती बलिङ गर्दै ८ ओभरमा ४ मेडन राख्दै मात्र ४ रन दिएर ३ महत्त्वपूर्ण विकेट हात पारे। शुभम रञ्जने र मिलिन्द कुमारले पनि एक-एक विकेट लिए।
यसअघि, अमेरिकाले साईतेजा मुक्कामल्ला र मिलिन्द कुमारको कीर्तिमानी शतकीय साझेदारीमा विशाल योगफल तयार पारेको थियो। खराब सुरुवात गर्दै ६.६ ओभरमा २८ रनमा ३ विकेट गुमाएको अमेरिकाको पारी मुक्कामल्ला र कुमारले सम्हालेका थिए।
यी दुईले चौथो विकेटका लागि अविजित २६४ रनको विशाल साझेदारी गरे। मुक्कामल्लाले १४९ बलमा १० चौका र ३ छक्कासहित १३७ रनको अविजित शतकीय पारी खेले भने कुमारले पनि १२५ बलमा ११ चौका र १ छक्काको मद्दतले १२३ रनमा अविजित रहे।
उनीहरूको यही साझेदारीले अमेरिकालाई खेलमा पूर्ण रूपमा हावी हुने अवसर प्रदान गर्यो। युएईका बलर जुनैद सिद्दिकीले २ विकेट लिएका थिए।
प्रकाशित: १७ कार्तिक २०८२ १७:२९ सोमबार





