१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

२० लाख १ हजारमा ताप्लेजुङ गोल्डकपको टिकट ठेक्का

साउन २४ गतेदेखि सञ्चालन हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको अवलोकन शुल्कको ठेक्का लागेको छ। २० लाख १ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताए।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ५ निवासी बिशाल लिम्बूको अगुवाइमा रहेको समूहले दर्ता गरेको बोलपत्र स्वीकृत भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ। लाखेजात्रा सञ्चालन समितिले कम्तिमा २० लाख रुपैयाँलाई आधार मानेर बढाबढमा यस वर्षको गोल्डकपको टिकट बिक्रीका लागि इच्छुक समूह, संस्था र व्यक्तिलाई बोलपत्र आह्वान गरेको थियो। समितिले पहिलो चरणका ४ खेलको टिकटदर जनही १ सय रुपैयाँ, सेमी फाइनलका २ खेलको टिकट दर २ सय रुपैयाँ र फाइनल खेलको टिकट दर २ सय ५० रुपैयाँ तोकेको छ।

बोलपत्र स्वीकृत भएको निकायले अब सोही टिकट दरका आधारमा दर्शकबाट अवलोकन शुल्क लिनुपर्ने हुन्छ। सर्त अनुसार बोलपत्र पार्ने स्थानीय कम्पनी,समूह र संस्थाले बोलपत्र सकारेको रकमको ७५ प्रतिशत आयोजक संस्थालाई अग्रिम भुक्तानी गर्नुपर्ने छ भने बाँकी २५ प्रतिशत रकम सेमीफाइनल खेल समाप्त भएपछि बुझाउनु पर्ने हुन्छ। यदि बाँकी रकम नबुझाए फाइनल खेलको टिकट बिक्री आयोजक कमिटीले नै गर्ने सर्त समेत राखिएको छ।

दर्शकहरूलाई खेलको अवलोकनका लागि बाँसद्धारा निर्मित अस्थायी र यसअघि नै खेलस्थल भानुजन माविको खेल मैदानमा निर्माण भएको स्थायी प्याराफिटको व्यवस्थापन गरिने भएको छ।

प्रकाशित: १० श्रावण २०८२ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App