२४ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

तियाफो सनसनीपूर्ण पुनरागमन गर्दै यूएस ओपनको सेमिफाइनलमा

फ्रान्सिस तियाफोले अविश्वसनीय पुनरागमन गर्दै एलेक्स मिचेल्सनलाई पराजित गरेर यूएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।

आर्थर एस स्टेडियममा भएको क्वार्टरफाइनलमा तियाफोले सुरुआती दुई सेट गुमाए पनि पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा मिचेल्सनलाई ५–७, ३–६, ७–५, ६–३, ७–६ (८–६) ले पराजित गरे। चार घण्टा ३९ मिनेट चलेको खेलमा तियाफो एक समय निर्णायक सेटमा ३-० ले समेत पछि परेका थिए।

मिचेल्सन सेमिफाइनल प्रवेशका लागि खेल जित्नबाट केवल एक गेम टाढा रहेका बेला तियाफोले खेलको दिशा परिवर्तन गरे। उनले लगातार दबाब बढाउँदै चौथो सेट जितेपछि निर्णायक सेटमा पनि संघर्ष जारी राखे। अन्ततः टाइब्रेकरमा जित निकाल्दै तियाफोले अविश्वसनीय पुनरागमन पूरा गरे।

दुई सेटले पछि परेको अवस्थाबाट ग्रान्डस्लामको क्वार्टरफाइनलमा निर्णायक सेटको टाइब्रेकर जित्ने तियाफो दोस्रो पुरुष खेलाडी बनेका छन्। यसअघि सन् २००५ को यूएस ओपनमा आन्द्रे आगासीले यस्तो उपलब्धि हासिल गरेका थिए। २८ वर्षीय तियाफोका लागि यो यूएस ओपनमा तेस्रो सेमिफाइनल यात्रा हो। अब उनी आफ्नो करियरको पहिलो ग्रान्डस्लाम फाइनल पुग्ने लक्ष्यमा छन्। यूएस ओपन तियाफोका लागि विशेष प्रतियोगिता रहँदै आएको छ।

यूएस ओपनमा उपाधि जित्ने सपना आफूले सुरुदेखि नै बोकेको तियाफोले यसअघि पनि बताउँदै आएका छन्। सन् २०२२ मा उनले राफेल नाडाललाई पराजित गर्दै यही प्रतियोगितामा ठूलो सफलता हात पारेका थिए। त्यसपछि उनी पहिलोपटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका थिए।

 

प्रकाशित: २४ भाद्र २०८३ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App